तेह्रथुम, १५ मंसिर । तेह्रथुमको सम्दु–३ मा जन्मेर प्रवासमा कार्यरत सुमिना चोङवाङले गाउँमा अंग्रेजी माध्यमकोे विद्यालय खोलेका छन् । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय खोलेका हुन् ।
उनले विद्यालय सञ्चालनका लागि ३५ लाख रुपैयाँ खर्चेर २ तले १० कोठे भवन निर्माण गरी गाउँमै गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय खोलेको बताए । ‘अभिभावकको अंग्रेजी मोहले सबैलाई सदरमुकाम डो¥याउँदैछ, गाउँमा हुने निम्न वर्गीय परिवारले त्यसरी पनि पढ्न सक्दैनन्’ उनले भने, ‘त्यसैले गाउँमै नानीहरुले अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पाउन् भनेर विद्यालय खोलेकी हुँ ।’
सुविधायुक्त भवनमा गाउँमै अंग्रेजी माध्यमको पढाई सुरु भएपछि गाउँका धेरै परिवार बसाइँ सर्नबाट रोकिएको प्रिन्सिपल राजु रेग्मीले बताए । स्कुलको नाम ह्यात्रुङ झरना अंग्रेजी स्कुल हो । डेढ वर्षदेखि सञ्चालनमा रहेको विद्यालयमा अहिले ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा एकसम्म पढाई हुन्छ । विद्यालय स्थापना भएपछि अहिले ५ जनाले रोजगारी समेत पाएका छन् ।
