धनौरी(दाङ) १३ मंसिर । गर्भवती चेकजाँच गराउने मिति नजिकिएपछि गाउँघरका गर्भवती महिलाहरुलाई स्वास्थ्यचौकीबाट फोन आउँछ, ‘तपार्इँको गर्भ जाँच गर्ने दिन भयो, नबिर्सेर आउनुस् है ।’ गर्भवती महिलाहरु स्वास्थ्य चौकीमा आउँछन् । चेकजाँच गराउँछन् । अनि फर्किने बेलामा स्वास्थ्य चौकीले आयोडिनयुक्त नुकको पोका र आइरन चक्की दिन्छ, ‘कोसेली’मा । र, फेरि स्वास्थ्यकर्मीहरुले सम्झाउँछन् ‘अर्काेपटक बेलैमा आउनुहोला ।’
अनि गर्भवतीलाई सुत्केरी व्यथा लाग्यो वा सुत्केरी हुने मिति पुग्यो भने उनीहरुले घरैबाट स्वास्थ्यचौकीमा फोन गर्छन् र स्वास्थ्यचौकीले एम्बुलेन्स पठाउँछ । यो स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गाविसभरिका महिलाहरुका लागि एम्बुलेन्सको खर्च लाग्दैन, बरु स्वास्थ्य चौकीले नै सुत्केरी भइसकेपछि पनि उनीहरुलाई घरैमा लगेर छोडिदिन्छ एम्बुलेन्सबाटै । त्यसको पनि पैसा लाग्दैन । यो पश्चिम दाङमा रहेको धनौरी स्वास्थ्य चौकीको ‘सुरक्षित मातृ–शिशु’ अभियान हो । आमा र बच्चाको राम्रो स्वास्थ्यका लागि स्वास्थ्य चौकीले स्वास्थ्य संस्थामै सुत्केरी गराउने प्रेरणा जगाउनका लागि यस्तो व्यवस्था गरेको हो । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका लागि घर नफर्किँदासम्म स्वास्थ्य चौकीले नै दूध, विस्कुट, चिया, अन्डालगायतको खाजाको समेत व्यवस्था गरिदिएको छ ।
त्यत्तिमात्रै होइन, सुत्केरी भएर घर फर्किएपछि न्वारानको अवधिसम्म स्वास्थ्य चौकीले स्वास्थ्य स्वंय सेविकाहरु घरमै पठाएर नियमित रुपमा आमा र शिशुको स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको छ । ‘यसले गर्दा अरु गर्भवतीहरुलाई पनि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ स्वास्थ्य राम्रो हुन्छ भन्ने चेतना जागेको छ’ धनौरी स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावत भन्छन् ‘निशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएपछि स्वास्थ्य चौकीमै आएर सुत्केरी हुन आउने, नियमित गर्भजाँच गर्ने महिलाहरु
अझैं बढेका छन् ।’ त्यसवाफत स्वास्थ्य चौकीले स्वंय सेविकाहरुलाई खाजाको समेत व्यवस्था गरिदिएको छ । उनका अनुसार गर्भवती र सुत्केरीका लागि लाग्ने यो खर्चको व्यवस्था स्वास्थ्य चौकीले आन्तरिक रुपमा आफैं व्यवस्था गर्छ । नियमित रुपमा एम्बुलेन्ससमेत चलाइरहेको यो स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानीको केही प्रतिशत रकम गर्भवती र सुत्केरीका लागि खर्च गरेको रावतले बताए । ‘यसमा सरकारले अतिरिक्त बजेट दिँदैन, हामीले गाउँमा सुत्केरी चेतना फैलाउनका लालगि यस्तो उपाय अपनाएका हौँ’ उनले भने ‘कम्तीमा गर्भवती महिलाहरुले आफ्नो र गर्भमा रहेको बच्चाको स्वास्थ्यका बारेमा चेतना पाएका छन् र स्वास्थ्यचौकीमै आएर सुत्केरी हुनेहरु बढेका छन् ।’
२०६९ सालदेखि प्रसुती सेवा सुरु गरेको यो स्वास्थ्यचौकीमा सुरुसुरुमा प्रसुती भवन नहुँदा प्रशासनिक कोठामै सुत्केरी गराइन्थ्यो । त्यत्रो गाविस भरिबाट गर्भ जाँच गराउनसमेत महिनामा एक दुईजनामात्रै महिलाहरु आउने गर्थे । अहिले त्यो क्रम बढेको छ । त्यो सँगै त्यहीँ आएर सुत्केरी हुने गर्भवतीको संख्या पनि बढेको छ । त्यसैको अभाव टार्नका लागि रेडक्रस सोसाइटी दाङ जिल्लाले प्रसुती भवन बनाउनका लागि ४ लाख रुपैयाँ सहयोग ग¥यो । त्यसैमा जिल्ला विकास समिति, गाविस तथा स्वास्थ्य चौकीले समेत केही रकम जोहो गरेपछि अहिले सुत्केरी हुने महिलाहरुका लागि छुट्टै भवन बनेको छ । तर, पनि थोरै बजेटले बनेको त्यो भवन पनि अपुग भइरहेको छ । त्यसमा पनि रेडक्रसले बेलाबेलामा स्वास्थ्योपचारका सामग्री तथा शिविरहरु सञ्चालनका लागि सहजीकरण गर्दै आएको छ ।
स्वास्थ्य चौकीमा अहिले ल्याब सेवा नहुँदा सुत्केरी गराउँदा केही जोखिम मोल्नुपर्ने हुन्छ । सुत्केरीका लागि सबैभन्दा महत्वपूर्ण हुने रगतका लागि ल्याव अनिवार्य हुन्छ । त्यसका लागि पनि स्वास्थ्य चौकीले पहल गरिरहेको निमित्त प्रमुख रावतले बताए । ‘हामीले अन्तरिक रुपमै जनशक्तिको व्यवस्थापन गर्नेगरी जनस्वास्थ्यसँग ल्यावका सामग्री माग गरेका छौँ’ उनले भने ‘त्यसपछि हामीलाई पनि र, सुत्केरीका लागि पनि अझैं सजिलो र राम्रो सेवा हुनेछ ।’ सुत्केरी गराउनका लागि यो स्वास्थ्यचौकीमा दुई जना अनमीहरु विशेष तालिम प्राप्त छन् । राप्ती समाचार
