इन्द्रेणी संवाददाता
दाङ, ७ जेठ
नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले धर्म र जातीका आधारमा राजनीति नगर्ने बताउनुभएको छ । रिपोटर्स क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिले नै धर्मको कुरा उछालेर काँग्रेस द्धन्द सृजना गर्न नचाहेको स्पष्ट पार्नुभयो ।
आफूले चाहेको व्यवस्था लागु गर्नका लागि कुनै पनि पार्टीको स्पष्टबहुमत चाहिने हुँदा अहिले काँग्रेसलाई त्यो म्यान्डेट जनताले नदिएको उल्लेख गर्नुभयो ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महामन्त्री कोईरालले नयाँ संविधानले हरेक धर्मलाई समान स्थान दिएको उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै कोईरालाले काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । पुनःनिर्माण, कालोबजारी, ग्याँस, इन्धनजस्ता कुराहरु अझैं व्यवस्थापन गर्न नसकेकोले यो सरकारको आलोचना गर्ने थुप्रै ठाउँहरु रहेको बताउनुभयो । नेपाली काँग्रेस ठूलो पार्टी भएकोले काँग्रेसले आफनो नेतृत्वमा सरकार निर्माण गर्न खोज्नु सामान्य कुरा भएकोमा जोड दिनुभयो ।
यसैबीच महामन्त्री कोईरालाले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा महामन्त्री कोईरालाले विकासका लागि कर्मचारीबाट सम्वभ नहुने हुुँदा स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभयो । संघका अध्यक्ष विमाल रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
संघले यस क्षेत्रको विकासका बारेमा महामन्त्री कोईरालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै महामन्त्री कोईरालाले टरिगाउँ एयरपोर्टको स्तरउन्नती र दाङलाई राजधानी वनाउने सवालमा आफू सकारात्मक रहेको बताउनुभयो ।।