जाजरकोट, ७ जेठ
जाजरकोट सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्था र विद्यालयहरुमा खानेपानीको हाहाकार भएको छ । अस्पतालमा पानी नहुँदा बिरामीको सरसफाई र उपचारमा समस्या परेको छ । विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरु समस्यामा छन् ।
सात सय भन्दा धेरै विद्यार्थी अध्ययनरत सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको धारामा एक हप्ता यता पानी नआएको प्राचार्य हेम बहादुर शाहले बताउनुभयो ।
खानेपानी नहुँदा विद्यार्थीहरुले पुरै कक्षा नपढी बीचमै घर जाने गरेका छन । विद्यालयलाई दैनिक दुई हजार लिटर पानीको आवश्यक पर्ने शाहले जानकारी दिनुभयो ।
मुहानमै पानी नभएका कारण सदरमुकामस्थित अन्य चार ओटा निजी विद्यालय र ३ ओटा सरकारी विद्यालयमा पनि खानेपानीको समस्या छ । त्यस्तै जाजरकोट भेरीमालिका नगरपालिका १३ कुदुमा पनि खानेपानीको अभाव छ । खानेपानीको समस्या भएपछि त्यहाँका स्थानीय घण्टौ हिँडेर भेरी नदीको पानी भर्न जाने गरेका छन ।।
