काठमाडौँ, १३ मंसिर । आजसम्म संविधान संसोधनको अल्टिमेटम संघीय गठबन्धनले सरकारसँग भएको तीन बुँदे सम्झौताको औचित्य समाप्त भएको जनाएको छ । दिएको समयभित्र सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्न नसकेको भन्दै गठबन्धनले सरकार गठनको क्रममा भएको तीन बुँदे सम्झौताको औचित्य समाप्त भएको निश्कर्ष निकालेको हो ।
गठबन्धनको आजको बैठकले सरकारले आफूहरुसँग भएको कुनै सम्झौता पूरा नगरेको भन्दै अब त्यसको औचित्य समाप्त भएको निश्कर्ष निकालेको हो । गठबन्धनले अब पुनः संघर्षमा जानुको विकल्प नभएको ठहर गरेको छ ।
‘सरकारले बारम्बार हामीलाई यति दिनभित्र संविधान संशोधन गर्छु भनेर मिति तोक्थ्यो । तर, त्यो पूरा नभएपछि हामीले थप १५ दिनको समयसीमा दियौँ । तैपनि संविधान संशोधन संशोधन प्रस्ताव गर्ने विषयमा सरकार उदासिन देखियो । आज त्यो समयसीमा सकिएको छ र संशोधन प्रस्ताव दर्ता भएन,’ स केशव झाले रातोपाटीसँग भने, ‘अब हामीसँग संघर्ष बाहेकको विकल्प रहेन ।’
गठबन्धनको आजको बैठकमा अधिकांशले सरकारले आफ्नो वाचा पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि, राजेन्द्र महतो, महन्थ ठाकुर, शरतसिंह भण्डारी लगायत शीर्ष नेतृत्वको अनुपस्थित रहेको कारण गठबन्धनको बैठकले आन्दोलनबारे ठोस निर्णय भने लिन सकेन ।
गठबन्धनले एक दुई दिनभित्र नै पुनः बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गरिने भएको छ । यद्यपि सरकारले संशोधनको विषयमा छलफल गर्न चाहे भने आफूहरु त्यसका लागि खुला रहेको बैठकमा सहभागी नेताले जानकारी दिए ।
