दाङ, १३ मंसिर । क्रान्तिकारी विद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पस घोराहीको प्राङ्गणमा सरसफाइ गरेका छन् ।
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस मुल इकाई कमिटीको अगुवाइमा सरसफाई गरिएको हो ।
राप्तीकै प्रमुख शैक्षिक गन्तव्य तथा पुरानो क्याम्पसको रुपमा परिचित क्याम्पसमा बढ्दै गएको वनमारा लगायत अन्य झार एवम् फोहोरहरु बढ्दै गएको र क्याम्पस प्रशासनले उचित व्यवस्थापन गर्न नसकेकोले आफुहरुले सरसफाई कार्यक्रमको आयोजना गरेको इकाई अध्यक्ष प्रदीप विष्टले बताए । विद्यार्थीहरुले क्याम्पस हाताभित्र उम्रिएका झाडी काट्नुका साथै वरपरको फोहर हटाएका थिए ।
सरसफाइपछि आयोजित कार्यक्रमलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव एवम् प्रदेश नं. ५ का ईन्चार्ज ध्रुवविक्रम ओलीले सम्बोधन गरेकाथिए । उनले आफ्नो संगठन सदैव विद्यार्थी हकहितमा प्रतिवद्द रहेको बताउँदै रचनात्मक कार्य गर्नमा पनि अग्रसर रहेको बताएकाथिए । संगठनले देशैभरि विद्यार्थी जागरण कार्यक्रम सञ्चालन गरेको भन्दै दाङको महेन्द्र बहुमुखी क्याम्पस सरसफाइसँगै अभियान उद्घाटन गर्ने बताए ।
सो अवसरमा क्याम्पस प्रमुख विमल सुवेदीले क्याम्पसमा कर्मचारीको अभावमा आफुहरुले पूर्ण सरसफाइ गर्न नसकेको अवस्थामा क्रान्तिकारीले जिम्मेवारीबोध गरी क्याम्पस प्राङ्गण सरसफाई गरेर रचनात्मक कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आफु क्याम्पसको भौतिक सुधार र शैक्षिक सुधारका लागि प्रतिबद्ध रहेको बताउँदै सुवेदीले सबैलाई सहयोग गर्न आग्रह पनि गरेकाथिए ।
कार्यक्रममा त्रिवि कर्मचारी संघका केन्द्रीय सदस्य गजराज अधिकारी, विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हेमन्त जिसी, नेविसंघ क्याम्पस इकाई सभापति शिवराज खनाल, अनेरास्ववियुका संगीत अधिकारीलगायतले मन्तव्य राखेकाथिए ।
सरसफाइ कार्यक्रममा संगठनका सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज गोपाल घर्ती, केन्द्रीय सदस्यहरु जंग रोका, घनश्याम पुन, अञ्जनी पुनलगायतको सहभागीता रहेको थियो । महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष प्रदीप विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इकाई सचिव गिरबहादुर महराले गरेकाथिए े भने क्रान्तिकारीका नेता हिरासिंह रानाले धन्यवाद ज्ञापन गरेकाथिए ।





