रुकुम, १२ मंसिर । रुकुम आठबीस डाडागाउँ–८ का रुद्र पुनको परिचय अहिले फेरिएको छ । उनलाई आजकाल सबैले ‘च्याउबाजे’ भनेर चिन्छन् । आफ्नो परिचय नै फेरिएकोमा उनी खुशी छन् । कम लगानीमा राम्रो फाइदा हुन थालेपछि उनले घरमै च्याउखेती गर्न थालेका हुन् ।

chau_1362228580अहिले उनको घरका कोठा गोब्रे र कन्ये जातको च्याउले भरिएका छन् । साधारण लेखपढ गरेका उनले वर्षात्को समयमा जङ्गलमा पाइने च्याउ त देखेका थिए तर घरमा रोपिने च्याउ देखेका थिएनन् । ६ महीनाअघि उपचारका क्रममा काठमाडौं जाँदा त्यहाँको बजारमा च्याउ देखेपछि उनले त्यसका बारेमा एक व्यापारीसँग बुझे । पछि घरमा आएर उनले च्याउको व्यावसायिक खेती गरेका हुन् ।

पहिले खेतीपाती र मजदूरीबाट जीविका चलाउँदै आएका उनले च्याउखेतीबाटै परिवारको पालन पोषण गर्न थालेका छन् । पुन बिहान उठेदेखि साँझसम्म च्याउकै हेरचाहमा हुन्छन् । बिहान उठेर उनी च्याउ बेच्न आठबीसकोटको राडी बजारमा पुग्छन् । बजारमा पुग्न नपाउँदै उनको च्याउ विक्री भइसक्छ । दैनिक १ हजार ५ सय रुपैयाँबराबरको च्याउ बेच्ने गरेको उनी बताउँछन् । सबै खर्च कटाएर उनले मासिक ३० हजार रुपैयाँसम्म बचत गर्ने बताए । त्यसबाट उनले २ छोरालाई काठमाडौं मा इञ्जिनीयरिङ र ओभरसियर पढाइरहेका छन् ।

च्याउखेतीमा उनलाई श्रीमतीले साथ दिएकी छन् । बजारमा च्याउको माग बढेसँगै मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् । राडी बजारमा च्याउ प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री हुन्छ । एक किलो च्याउबाट उनले १ सय २५ रुपैयाँसम्म कमाउँछन् । रोपेको १ महीनामा च्याउ तयार हुन्छ । शुरूमा २ पोका च्याउको बीउबाट व्यवसाय थालेका उनले अहिले ५० पोका च्याउ राखेका छन् ।

अझै पनि बजारको मागअनुसार च्याउ पुर्‍याउन नसकेको उनी बताउँछन् । उनले च्याउसम्बन्धी कुनै तालीम लिएका छैनन् । तर, स्थानीय बासिन्दालाई च्याउ लगाउने विधिबारे जानकारी गराउँछन् ।

च्याउखेतीका लागि असोजदेखि फागुन राम्रो सिजन मानिन्छ । च्याउमा दिनमा एकपटक पानी हाल्नुपर्छ । अँध्यारो र अक्सिजन आउने कोठामा च्याउ राम्रो हुने जिल्ला कृषि विकास कार्यालय रुकुमले जानकारी दिएको छ । च्याउखेतीका लागि २५ डिग्रीदेखि २७ डिग्री तापक्रम उपयुक्त मानिन्छ ।