सुर्खेत, १२ मंसिर । नेपालमै पहिलोपटक मौसमसम्बन्धी पूर्वजानकारी दिने उपकरण ‘राडार’को सुर्खेतमा स्थापना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले दैलेख र सुर्खेतको सिमानामा पर्ने रातानाङ्गलामा यो उपकरण जडान गर्न लागेको हो ।

जल तथा मौसमबाट हुने प्रकोप रोक्न र मौसमसम्बन्धी प्रणालीलाई आधुनिकीकरण गर्न विभागले झण्डै ३० करोड रुपैयाँको लागतमा राडार स्थापना गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिका–२४, रातानाङ्गलामा निर्माण हुने राडारका लागि आवश्यक जग्गा र पहुँच मार्ग निर्माण गरिएको छ ।

weather_station २०७२ साल फागुन १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस स्थानमा राडार निर्माण गर्न डेढ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । नलखोला सामुदायिक वन उपभोक्ता समितिले राडार निर्माण गर्न जग्गा उपलब्ध गराइसकेको छ ।

विश्व बैङ्कको सहयोगमा निर्माण हुन लागेको राडारको टेण्डर प्रक्रिया अन्तिम चरणमा रहेको जल तथा मौसम विज्ञान विभाग काठमाडौंका सिनियर डिभिजनल सञ्चार इञ्जिनीयर सुदीप भट्टराईले जानकारी दिए । ‘टेण्डरमा ३ जनाको नाम छनोट भएको छ,’ भट्टराईले भने, ‘यीमध्ये मूल्याङ्कन गरेर १ जनालाई छनोट गर्छौं र तत्काल काम शुरू गर्न लगाउँछौं ।’

उक्त स्थानमा निर्माण हुने राडारले मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमी पूर्वानुमान गर्नमा सहयोग पु¥याउने विभागको भनाइ छ । ‘राडारले मुख्यगरी पानी, असिना र हिउँको परिमाण कुन क्षेत्रमा कति पर्छ भन्ने सहजै पत्ता लाग्छ,’ भट्टराईले थपे, ‘यसबाट प्रकोप न्यूनीकरण गर्नमा ठूलो योगदानसमेत पुग्नेछ ।’