इन्द्रणी संवाददाता
दाङ, १० मंसिर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको आज दाङमा औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । लैगिंक हिंसा अन्त्य तथा लैगिंक ससक्तिकरण जिल्ला संयोजन समिति दाङको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले अभियानको उद्घाटन गरेका हुन् ।
घोराहीमा आज निकालिएको रयाली । तस्विर आरके शितल
उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले लैगिंक हिंसा सधैका लागि अन्त्य गर्न हरेक सचेत नागरिकले आफ्नै घरबाट शुरु गर्नुपर्ने बताएका थिए । पछिल्लो समयमा यो या त्यो नाममा लैगिंक हिंसा वढ्दै गएको भन्दै यसका लागि सबै सचेतता पूर्वक लाग्नुपर्नेमा उनीहरुको जोड थियो । वक्ताहरुले हिंसाबाट वञ्चनका लागि नागरिक आफैले पनि सचेतता अपनाउन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी काफ्लेले हरेक नागरिकले आफ्नो घर जस्तो बनायो समाज पनि त्यस्तै बन्ने भन्दै लैगिंक हिंसा अन्त्यका लागि घरबाटै सुरु गर्नुपर्ने बताए । अभियानको औपचारिक उद्घाटन पूर्व घोराही बजारमा रयालीले आयोजना गरिएको थियो । रयालीले बजारका विभिन्न ठाउँ परिक्रममा गरेको थियो ।
