बैतडी, १० मंसिर । एउटा विद्यालय एक शिक्षकको भरमा चलेको छ भन्दा कसैलाई अच्चमा लाग्न सक्छ तर यस्तै भएको छ । बैतडीमा । आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन भएको छ ।
२०५० सालमा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक कर्णबहादुर मडैले जानकारी दिए ।
विद्यालयसँग आर्थिक स्रोत छैन उनले भने, ‘निजीस्रोतबाट राखेको एकजना शिक्षकलाई समेत आर्थिक अभावमा तलब भत्ता खुवाउन सकिएको छैन ।’ कक्षा ५ सम्मको पढाइ हुने यो विद्यालयमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पढाइ कमजोर बन्दै गएको स्थानीय अभिभावक धर्मसिंह मडैले जानकारी दिए ।
भौगोलिक हिसाबले पनि विकट क्षेत्रमा रहेको विद्यालयमा दुई जना शिक्षकले पाँचवटा कक्षा सञ्चालन गर्नु परिरहेको र कुनै शिक्षक अनुपस्थित भएमा एक जनाले कक्षा ५ कक्षासम्म अध्यापन गर्नुपर्ने बाध्यता रहिआएको रौलेश्वर पूर्व विद्यार्थी समाजका अध्यक्ष रीजन मडैले बताए ।
शिक्षा ऐन २०२८ को आठौँं संशोधन अनुसार नयाँ ऐन आइसकेको र नियमावली आउन लागेकोले रिक्त दरबन्दी भए दरबन्दी मिलान गर्न सकिने तर थप दरबन्दी भने तत्काल दिन नसकिने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए ।
