काठमाडौं १० मंसिर । नव एकीकृत राप्रपाले मधेसको माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव पारित गर्नै नदिने एमालेको निर्णय अतिवाद भएको आरोप लगाएको छ ।
पार्टी एकीकरणपछि आयोजित पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले मधेसको माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव नै दर्ता गर्न दिन्न भन्नु एमालेको अतिवादी चरित्र भएको आरोप लगाए ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘मधेसको माग सम्बोधन भएन भने चुनाव हुँदैन, त्यसैले संविधान संशोधन हुन दिन्न भन्नु, सदन र सडकमा आन्दोलन गर्छु भन्नुले मुठभेड निम्त्याउँछ ।’
उनले अघि भने, ‘चित्त नबुझे भोट नहाले हुन्छ, तर यदि मधेसको माग सम्बोधन गर्न संविधान संशोधन भएन भने निर्वाचन हुन सक्तैन, त्यसले संविधान संकटमा पर्न सक्छ ।’
सरकारले ल्याउन लागेको भनिएको संविधान संशोधनको प्रस्तावको बारेमा आफूहरुसँग छलफल नभएको र यदि छलफलका लागि आयो भने पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने अध्यक्ष थापाको भनाइ थियो । अनलाइनखबरबाट