बाँके, १० मंसिर । भारतीय ठूला नोट पाँच सय र एक हजारका नोट प्रतिबन्धपछि नेपाल–भारत सीमानामा अवैध आयात बढेको छ । ठूला नोट बन्द भएकै कारण सीमापारीको भारतीय बजार रुपैडिहामा समेत महँगी बढेपछि भारतबाट आउने उपभोग्य मालसामानको अवैध आयातमा वृद्धि भएको हो ।
प्रहरीले सीमानामा कडाइ गरे पनि खुला सीमानाका कारण सहायक बाटोबाट अवैध आयात बढेको सूचना आइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।चिनी, खाने तेल, चामल, पिठो र दालको मूल्यमा सीमावर्ती बजार रुपैडिहामा वृद्धि गरिएका कारण नै ती वस्तुुको अवैध आयात बढेको भन्सार कार्यालयको बताएको छ ।
नोट प्रतिबन्ध लाग्नुअघिसम्म प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको चिनी अहिले एक सयदेखि १ सय १० रुपैयाँमा बिक्री भइरहेको छ । भारतबाट चिनी र खाने तेललगायत दाल, चामलजस्ता खाद्यान्नको अवैध आयात भइरहेको जानकारी आइरहेकै बेला कोहलपुर व्यापार संघका उपाध्यक्ष चक्रबहादुर अधिकारीको गोदामबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणमा अवैध चिनी बरामद भएको छ ।
कोहलपुर नगरपालिका–११ स्थित उपाध्यक्ष अधिकारीले सञ्चालन गरेको अमृत एण्ड सप्लायर्स जनरल स्टोरमा गोदाम गरेर राखेको अवस्थामा १९ क्वीन्टल २० केजी अवैध चिनी बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए ।











