काठमाडौं, ९ मंसिर । पाँच सय र एक हजारका पुराना नोट प्रतिबन्धित गरेपछि भारतले ल्याइएका दुई नयाँ नोट नेपालमा नचल्ने भएका छन् । प्रतिबन्धित पुराना नोटको विकल्पमा भारतले ल्याएका दुई हजार र पाँच सय मूल्यका नयाँ नोट नेपालमा तत्काल नचल्ने भएका हुन् ।
एक हजार र पाँच सयका नोट प्रतिबन्ध गरेर भारतले ल्याएका दुई हजार र पाँच सय रुपैयाँका दुई नयाँ नोट नेपालमा तत्काल नचल्ने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेलले बताए । प्रवक्ता पौडेलका अनुसार भारतले ल्याएका नयाँ दुई हजार र पाँच सयका नोटलाई नेपालमा अहिले अवैधानिक भनिएको छ ।
‘यदि कोही कसैले नयाँ नोट प्रयोगमा ल्याउनु भएको छ भने त्यो अवैधानिक हो, अवैधानि काम कोही कसैले नगर्नु’, उनले भने, ‘कोही कसैले यस्ता नोट प्रयोगमा ल्याएमा त्यसबाट आइ पर्ने समस्याको जवाफदेही आफैँ हुनुपर्नेछ ।’ दुई हजार र पाँच सयको नोट नेपालमा चल्न लागि भारतले ‘फेमा नोटिपिीकेसन’ जारी गर्नुपर्ने हुन्छ ।
