काठमाडौं, ८ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सुरु गरेको पहिलो दिनमै अमेरिकाका तर्फबाट ट्रान्स–प्यासिफिक पार्टनरसिप (टीपीपी) व्यापार सम्झौताबाट अलग हुने बताएका छन् ।

108646-474073-395118-donald7ट्रम्पले भिडियो सन्देशमार्फत जनवरीमा ह्वाइट हाउसमा प्रवेश गरेकै दिन सम्झौता अमेरिकाले फिर्ता लिने घोषणा गरेका हुन् । टीपीपी व्यापार सम्झौतामा १२ मुलुकले हस्ताक्षर गरेका छन् ।

यी मुलुकले विश्व अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगटेका छन् । ट्रम्पले कोइला उत्पादनमा ‘रोजगारी हटाउने प्रतिबन्ध’लाई कम गर्ने र भिसा दुरुपयोग पनि रोक्ने प्रतिबद्धता जनाएका छन् । उनले ओबामाकेयर हटाउने र मेक्सिकोसँग जोडिएको दक्षिणी सिमानामा पर्खाल निर्माण गर्नेबारे भने केही उल्लेख गरेनन् ।

उनले निर्वाचन अभियानको समयमा आफू सत्तामा आएलगत्तै यी दुई काम गर्ने बताएका थिए । दुई साताअघि भएको राष्ट्रपतीय निर्वाचनमा उनको आश्चर्यजनक विजयपछि अमेरिकामा विरोध भएको थियो । सन् २०१५ मा जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र मेक्सिकोले टीपीपीमा सहमति जनाएका थिए । तर, हालसम्म पनि यसको अनुमोदन भएको छैन ।