काठमाडौँ – चर्चित गायिका कोमल वलीले सरप्राइज दिँदै आज एकतापछि नवगठित राप्रपामा प्रवेश गरेकी छिन् । सँधै एमाले अध्यक्ष केपी ओलीसँग देखिने वलीलाई धेरैले राजनीतिमा लागे एमालेमै जानेछिन् भन्ने लागेको थियो । एकपटक अन्तर्वार्तामा पनि उनले आफ्नो सोच केपी ओलीसँग मिल्ने बताएकी थिइन् । तर, सबैको अनुमान विपरित उनी राप्रपा प्रवेश गरेकी छिन् । कोमल भने आफूले आफ्ना फ्यानलाई सरप्राइज दिनुभन्दा राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले सरप्राइज दिएको बताउँछिन् । उनको अबको राजनीतिक यात्राबारे कुबेर गिरीले गरेको कुराकानी :

komal-oli

राजनीतिमा प्रवेश गर्ने मुड कसरी बन्यो ?
राजनीतिमा प्रवेश गर्ने इच्छा धेरै पहिले देखिकै हो । यसमा लागेर देशको सेवा गर्न चाहन्छु । गायक पशुपति शर्माको गीतले पनि मलाई राजनीतिका लागि प्रेरणा दियो । तर आज पार्टीमा प्रवेश गर्छु भन्ने थिएन । आज बास्तबमा भन्ने हो भने म कार्यक्रम उद्घोषण गर्ने कुरा थियो ।
हिजो अचानक कमल थापाजीले अफर गर्नुभएको थियो । उहाँले भनेपछि कसरी नाईभन्नु मैले । बिद्यार्थीकाल देखिनै म उहाँको बिभिन्न क्रियाकलबाट केही न केही सिक्दै आएकी छु । उहाँले कार्यक्रम सुरु हुनुभन्दा अगाडी तिमीलाई सरप्राइज दिन्छु भन्नु भो । सरप्राइज यहि रहेछ ।

केही अगाडी केपी ओलीसँग सोच मिल्यो भन्नुहुथ्यो ? राजनीतिका लागि राप्रपा किन छनौट गर्नुभयो ?
केपी ओली जि पनि मलाई मनपर्ने नेता हुनुहुन्छ । म उहाँलाई काकु भन्छु । केही पहिले एक कार्यक्रममा भेट पनि भएको थियो । तर पार्टीको बिषयमा वहाँँसँग कुरो भएन । राप्रपामा आउन मलाई कमल थापा जि ले अफर गर्नुभयो । मैले स्वीकार गरे ।
कलाकारिता, संचारकारिता र राजनीतिलाई कसरी व्यावस्थापन गर्नुहुन्छ ?
कलाकार छु नै म । बच्चा देखिकै हो ममा यो प्रतिभा । मेरो नशा नशामा कलाकारिता छ । संचार क्षेत्र मेरो पेसा हो । यो चल्दै आएको छ । राजनीति भन्ने कुरा मानिसको परिस्थिती, समय, सोच र अवस्थाले श्रृजना गर्ने कुरो हो । अब यसलाई सेवाको रुपमा अगाडी लैजान्छु ।

के छ अबका योजना ?
हाम्रो देशमा राजनीतिको प्रभाव बढि छ । म कलाकारिताको सिलसिलामा ठाउँ ठाउँमा गएकी छु । गाउँ गाउँमा पुगेकी छु । त्यो क्रममा दिदीबैनी अबस्था देख्दा । बाल बिबाह भएको अवस्था देख्दा । बहु बिबाहको अवस्था देख्दा मलाई केही गर्न मन लाग्छ । यि बिषयमा गायिका भएर केही परिवर्तन गर्न म सक्षम छैन । यस कारण राजनीतिमा लागेर समाजमा थोरै भएपनि केही योगदान गर्न सकिन्छ की, आफ्नो जीवन सार्थक तुल्याउँछु भनेर होमिएकी हो । अन्य महत्वकांक्षा केही छैन ।

चुनावमा पनि प्रतिस्पर्धा गर्नुहुन्छ कि ?
त्यसको बारेमा केही सोचेकी छैन ।

राजनीतिका लागेर के गर्ने लक्ष्य छ ?
सोच्दै छु ,आत्मसमिक्षा गर्दैछु । बल्ल आज पार्टीको माला लगाइदिनु भएको छ । देशको अवस्था के रहन्छ । पार्टीले कस्तो रुपमा लिन्छ । कसरी अगाडी बढ्छ । मलाई जिम्बेवारी के दिन्छ । मैले के गर्न सक्छु । त्यसले मेरो लक्ष्यको निर्धारण गर्छ । म अहिले नै भन्न सक्दिन ।
रातोपाटीबाट