काठमाडौं, ६ मंसिर । नेकपा एमाले विनै संविधान संसोधन गर्ने माओवादी केन्द्रले तयारी गरेको छ । संविधान संशोधन र महाअभियोग प्रस्तावको विषयमा छलफल गर्ने माओवादी केन्द्रको आज सम्पन्न सचिवालयको बैठकबाट यस्तो निष्कर्षमा पुगेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवासमा आयोजित बैठकमा एमाले सहमतिमा नआए पनि अरु दलहरुलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागि एक नेताले बताएका छन् ।
हिजो बसेको एमाले बैठकले संविधान संशोधनको कुनै औचित्य नरहेको बताएपछि माओवादी केन्द्रले एमाले बिना पनि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
माओवादी केन्द्रलाई अप्ठेरो पर्ने गरी एमालेले निर्णय गरेपछि माओवादी केन्द्रले नयाँ चुनौती सामना गर्नेगरी निर्णय गर्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । त्यस्तै महाअभियोग प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
