भुपेन्द्र प्रकाश ओली
दाङ ५ मङिसर । दाङ जिल्ला उद्योग वाणीज्य संघले केही दिन अघि गरेर आएको भारत भ्रमण जिल्लाका व्यवसायीहरु बिच व्यापक आलोचना विषय बनेको छ । औद्योगीक क्षेत्रको अध्ययन अवलोकन भ्रमण गर्नुपर्नेमा गोवा जस्तो पर्यटकिय स्थलको भ्रमणमा रमाएर लाँखौ पैसा सिध्याएको भन्दै व्यवसायीरु आक्रोशीत भएका हुन ।
संघका पदाधिकारी , पूर्वअध्यक्ष तथा कर्मचारी सहीतको १७ सदस्यीय टोलीले कार्तीक १८ देखि ३० गते सम्म भारतको हैदराबाद , मुम्बई र गोवाको भ्रमण गरेको थियो ।संघसंग आबद्ध सरोकारवालाले भ्रमणपूर्व नेपालका औद्योगीक क्षेत्रको अध्ययनका लागी भए भ्रमणमा जाने तर भारत नजाने भने विरोध जनाएपनि कार्यसमीती अटेर गरेर भ्रमणमा गएको थियो ।
‘ जाने नै भए नेपालका औद्योगीक क्षेत्रको अध्ययन अवलोकनमा जाँउ भनेर मैले भनेको हुँ ’ संघका पूर्व अध्यक्ष समेत रहेका नागरीक समाज दाङका सचिव चन्द्रराज पन्तले भने ‘ तर उहाँहरु अन्ततः भारत भ्रमणमा जानुभएछ ।’ संघका उद्योग उपाध्यक्ष खडग बुढाथोकी , सचिव शुसील प्रकाश आचार्य र अन्य दुई सदस्य बाहेक कार्यसमीतिका पदाधिकारी , पूर्वअध्यक्ष , सदस्य , तथा कर्मचारीहरु भ्रमणमा गएका थिए ।
कामको पैसामा घुमघाम भ्रमणका क्रममा बहुउद्येशीय सभागृह बनाउने भनी संकलन गरिएको लाँखौ पैसा उक्त टोलीले खर्च गरेको छ । टोलीले करिब १२ लाख बराबरको पैसा भ्रमणका क्रममा खर्च गरेको छ ।
जसमा संघको तर्फबाट प्रतिव्यक्ती २५ हजार र र अन्य खर्च व्यक्तिगत रुपमा व्यहोर्ने गरी खर्च गरिएको हो ।यसरी सभागृह निर्माण गर्ने भनेर संकलन गरिएको करिब ५ लाख बराबरको रकम भ्रमणका क्रममा सिध्याईएको छ । यद्यपी सभाग्रह निर्माणका लागी अन्य क्षेत्रबाट रकम संकलन गरिरहेको संघको कार्यसमीति आफैले व्यक्तिगत नै भएपनि रकम खर्च गर्नु उपर्युक्त नभएको व्यवसायीहरुको भनाई छ । ‘ सभागृह निर्माणका लागी अरु क्षेत्रमा हात फैलाउदै हिडनुपर्ने स्थिीति छ ’ एक व्यवसायीले भने ‘ संघको कार्यसमीति भने घुमघाम भन्दै पैसा सिध्याईरहेको छ ।’
संघले २०६५ सालदेखी वर्षेनी भ्रमणका नाममा यसरी रकम सिध्याउदै आएको छ । तर यसपाली पहिलोचोटी भारत भ्रमण गरिएको हो निर्माणधिन छ सभागृह बहुउद्येशीय सभागृह निर्माणका लागी संघले २ पटक बृहत औद्योगीक तथा व्यापारीक महोत्सव सम्पन्न गरिसकेको छ । जसमा पहिलोपटक २०६९ सालमा आयोजना गरिएको महोत्सव बाट ५१ लाख र गतवर्ष फाल्गुनमा आयोजना गरिएको महोत्सवबाट करिब २३ लाख रकम संकलन भएको थियो ।
महोत्सवबाट करौडौ रुपैया संकलन गरेपनि बचत भन्दा खर्च बढी गरेको भन्दै व्यवसायीहरुले उक्त समयमा पनि संघको आलोचना गरेका थिए । यस्तै करिब २ महिना स्थानिय बजारमा व्यापार ठप्प पारेर पूजी भारत पलायन गराएको भन्दै व्यवसायीहरुले महोत्सवको आलोचना गरेका थिए । ‘ हाल फेरी पनि व्यवसायी तथा महोत्सव बाट उठेको लाँखौ रकम भ्रमणका नाममा भारत पलायन गराइएको छ ’ एक व्यवसायीले भने ‘ निरउद्येश्य गरिएको यस्तो भ्रमणले पैसा सिधीनु बाहेक दाङलाई कुनै फाइदा पुर्याउने देखिदैन ।’