काठमाडौं, ५ मंसिर । तत्कालिन एनेकपा माओवादीबाट वाहिरिएको डा. बाबुराम भटटराई नेतृत्वमा रहेको नयाँ शक्ति नेपालले शान्ति सम्झौता भएको दश बर्षमा अपिल जारी गरेको छ । नयाँ शक्तिले १० बर्षमा संविधानसभाबाटै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा हुनु एक महत्वपूर्ण उपलब्धी मानेको छ ।
नयाँ शक्तिले देखेका उपलब्धीहरु
- शान्ति प्रक्रियाको यो अवधिमा कमिकमजोरीका बावजुद संविधानसभाबाटै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा हुनु एक महत्वपूर्ण उपलब्धी हो ।
- राजतन्त्रको स्थानमा गणतन्त्र, एकात्मक राज्यका सट्टामा संघात्मक राज्य, हिन्दू अधिराज्यका सट्टामा धर्मनिरपेक्षता, एक भाषा, एक जाति, एक संस्कृतिका सट्टामा वहुजातीय वहुसाँस्कृतिक मान्यताका साथै समानुपातिक समावेशी एवं धर्मनिरपेक्षताको मान्यता अवलम्वन गर्ने राज्यमा रुपान्तरण नेपाली समाज रुपान्तरणको कोशेढुंगा नै हो ।
- थुप्रै कमिकमजोरीका बावजुद पनि माओवादी सेनाको समायोजन र व्यवस्थापन गरी एक राज्य दुई सेनाको मान्यतालाई व्यवहारतस् अन्त गर्ने कुरा अनि संक्रमणकालीन न्यायको मान्यताका आधारमा सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन आयोग गठन गरी कार्य प्रारम्भ गर्ने काम मुलुकलाई शान्ति र समृद्धिको दिशामा अगाडि वढाउने महत्वपूर्ण परिघटनाहरु बनेका छन् । समग्रमा मुलुक एक दशक लामो द्वन्दको रुपान्तरणको प्रक्रियामा एक दशक लामो शान्ति प्रक्रियाको अवधिले सकारात्मक वातावरण बनाएको छ भन्ने हाम्रो ठम्याई छ ।
- नेपाली समाजका समस्या वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय हुन् । यिनको समाधान राज्यको अग्रगामी पुनस्संरचना हो । आर्थिक–सामाजिक रुपान्तरण गर्ने नेपाली जनताको अपेक्षालाई पूरा गर्ने भन्ने बाचाका सवालमा भने सकारात्मक चित्र देख्न सकिँदैन । दीगो शान्तिकालागि उच्चस्तरीय शान्ति आयोग, भूमिमा निहित सामन्तवादको समूल नष्टकालागि उच्चस्तरीय भूमिसुधार आयोग, राज्यको अग्रगामी पुनस्संरचनाकालागि उच्चस्तरीय राज्य पुनस्संरचना आयोग जस्ता संरचनाहरुको निर्माण हुन नसक्नु र तिनको लक्ष्य हासिल हुन नसक्नु, संविधानको व्यापक स्वीकार्यताको अभाव यो अवधिका गम्भीर कमजोरी रहे भन्ने हाम्रो ठहर छ ।
- भ्रष्टाचार आजको मुख्य समस्या बनेको छ । भ्रष्टाचारका कारणले राजनीति वदनाम हुँदै जाने बिडम्वना एकातिर रह्यो भने अर्कोतिर देश र जनता केन्द्रित भन्दा सत्ता र सुविधा केन्द्रित राजनीतिले प्रश्रय पायो जो नेपाली राजनीतिको महाभूल हुन पुगेको छ ।
- २१ औं शताब्दीको दोश्रो दशकमा आज विश्व राजनीति र नेपाली राजनीति समेत परम्परागत राजनीतिका सीमा, कमजोरी र असफलतामा सो को विकल्पको अपेक्षा र व्यग्र प्रतिक्षामा छ । समाजलाई विभाजन गर्ने राजनीतिको युग समाप्त गरी समाजको तत्कालीन समस्या समाधान गर्ने राजनीतिको थालनी गर्दै व्यवस्था बदलिएको तर अवस्था बदल्न बाँकी रहेको परिप्रेक्ष्यमा शान्ति, स्थीरता र विकासकालागि पूर्ण समानुपातिक संसद सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरी आर्थिक समृद्धिको दिशामा अघि वढ्न आजको दिनले प्रेरित गरोस । शान्ति प्रक्रियाका एक दशकको सकारात्मक समीक्षा गरौं, यसबीचमा रहेका कमिकमजोरी हटाउने प्रतिबद्धता गरौं र शान्ति र समृद्धिको दिशामा अघि बढौं । नयाँ शक्ति पार्टी, नेपाल यो अवसरमा आम नेपाली दिदीवहिनी, दाजुभाइमा अपील गर्दछ । रातो पाटीबाट