काठमाडौं, ५ मंसिर । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो । १८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो ।

old-gadiआगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । ‘कार्यविधि बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन ।’

आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भाडाका सवारीसाधन कवाडीमा बेच्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रण गर्न सकिने जनाएको छ । सोही आधारमा विभागले २० वर्ष पुराना गाडी हटाउन लागेको हो ।

पहिलो चरणमा भाडाका सवारीसाधनमाथि २० वर्षको प्रावधान लागू गर्न लागिएको हो । क्रमशः निजी गाडी तथा मोटरसाइकलमा पनि लागू गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए ।