इन्द्रेणी संवाददाता
दाङ, ५ जेठ ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले लैगिक हिंसा न्यूनिकरणकालागि जिल्ला ब्यापी अभियान चलाउने निर्णय गरेको छ । जिल्ला महासंघ दाङको आज घोराहीमा सम्पन्न नवौ पूर्ण बैठकले लैंगिक हिसा न्यूनिकरणकालागि वन महासंघको सञ्जाल मार्फत अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले जिल्ला महासंघ सहित सेक्टर, इलाका, नगर तथा गाउँ महासंघ मार्फत वन समूहतहमा हिंसा न्यूनिकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी अभियान चलाउने निर्णय गरेको हो ।
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षता एंव महासंघका केन्द्रीय सदस्य सावित्रा बिकको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्लामा सञ्चालित स्थानीय अनुकुलन योजना सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।
दाङको सिमसार क्षेत्रको संरक्षण, जलवायु अनुकुलन, स्थानीय अनुकुलन योजनामा थप सहयोग लगायत वन तथा वातावरण क्षेत्रमा क्रियासील संघसंस्थाहरुसँग समन्वय गरी अघी बढ्नकालागि विश्व बन्यजन्तु कोषसँग समन्वय गरी कार्यक्रम गर्ने निर्णय बैठकले गरेको बैठकपछि वन महासंघका जिल्ला सचिव एंव प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ,नेपालको जेठ १८ र १९ गते काठमाण्डौमा हुने सातौ परिषदमा जिल्ला महासंघको सिकाइ,अनुभव र संगठनिक अवस्था, महासंघको बार्षिक नीति तथा कार्यक्रम, समसामयिक सवाल, महासंघको पुर्नसंरचना, अव चलाउनुपर्ने बिषेश अभियान लगायतका बिषयमा सुझाव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।।
