काठमाडौं, २ मंसिर । ट्राफिक प्रहरीले दुर्घटना गराउने चालकलाई आजदेखि ट्राफिक शिक्षा दिने भएको छ । एकपल्ट दुर्घटनामा परेको व्यक्ति ट्राफिक शिक्षाको अभावमा अर्को पटक पनि दुर्घटनामा पर्ने सम्भावना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि कक्षा सुरु गरेको हो ।

1463216448traffic_police_nepalमहाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले दुर्घटना नदोहोरियोस भनेर कक्षा सञ्चालन गर्न लागिएको बताए । यस्तै दुर्घटना हुन नदिन अरु सामान्य गल्ती गर्दा पनि कारवाही गर्ने तर दुर्घटना नै गरेका व्यक्तिलाई केही कारवाही नहुने भएपछि दुर्घटना बढेको भन्दै कक्षा सञ्चालन गर्नुपरेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए ।

यसले दुर्घटना कम गर्न मद्दत गर्ने उनको भनाई छ । दुर्घटनामा घाइते भएकाको उपचार खर्च गाडी धनी र समितिले व्यहोर्ने गर्छन् । तर दुर्घटना गराउने चालकलाई केही कारवाही नहुने भएकाले उसैबाट दुर्घटना दोहोरिने सम्भावना धेरै हुने भएकाले महाशाखाले दुर्घटना गराउने चालकलाई पनि कक्षा सञ्चालन गर्न लागेको हो । दुर्घटना गराउने जो कोहीले अब पाँच सयदेखि एक हजार रुपैयाँ जरिवानासहित एक घण्टाको कक्षा लिनुपर्छ ।