रुकुम, १ मंसिर । रुकुमको चुन्वाङ गाउँमा ११ वर्षपछि गाडी पुगेको छ । दाङको घोराहीबाट छुटेको सिस्ने हिमाल यातायात समितिको ना ३ ख ८७१३ नम्बरको बस चुन्वाङको गैरीगाउँमा पहिलो पटक पुगेको हो । माओवादीले दश वर्ष लामो सशस्त्र युद्ध छाडेर शान्तिमा फर्कने निर्णय गरेको चुन्वाङ गाविसमा गाडी पुगेपछि गाउँले खुसी भएका छन् ।
चुन्वाङ पुग्ने सडक तत्कालीन नेकपा माओवादीले रुकुम(रोल्पाका जनतालाई जनश्रमदान गराएर खनेको हो । यसको नाम सहिद मार्ग राखिएको छ। दाङको घोराही–रोल्पा होलेरी–घर्तीगाउँ हुँदै बागमारा भएर यो सडक रुकुमको चुन्वाङमा आउने गरेको छ ।
चुन्वाङबासीलाई विगतमा दाङ, नेपालगञ्ज र काठमाडौँ जान सदरमुकाम खलङ्गा आउन तथा जिल्ला रोल्पाको बागमारा जानुपर्ने बाध्यता थियो । तर अब चुन्वाङी जनताको त्यो वाध्यता टरेको छ । राप्ती यातायात समिति, जलजला यातायात समिति र सिस्ने हिमाल यातायात समितिको त्रिपक्षीय सहमति अनुसार चुन्वाङसम्म गाडी पुगेको हो ।
