रौतहट, २९, कार्तिक । रौतहटमा सोमबार  प्रहरी र डाँका समूहबीच भिडन्त भएको छ । भिडन्तका क्रममा डाका समूहबाट एउटा अत्याधुनिक इन्सास राइफल बरामद भएको छ । नेपालमा नेपाली सेना र भारतीय सेनासँग मात्रै रहेको राइफल बरामद भएपछि सुरक्षा चिन्ता बढाएको छ ।

467a2cef53403e6b4667fb30ba3824eb

रौतहटमा डाका समूहबाट बरामद इन्सास राइफल 

रौतहटको देवाही गाविस–८ स्थित लालबकैया नदीको किनारमा सोमबार बिहान प्रहरी र डाका समूहवीच भिडन्तपछि खोजीका क्रममा अत्याधुनिक इन्सास राइफलसँगै त्यसको १५ थान गोली पनि भेटिएपछि जिल्लामा थप सुरक्षाको चिन्ता पैदा भएको हो ।

प्रहरीले भिडन्तमा मारिएका भनिएका भारतको पूर्वी चम्पारण ढाका जिल्ला कोरैया ग्राम पञ्चायत नौखान टोल निवासी ४४ वर्षीय तेजीलाल साहको साथबाट भेटिएको अत्याधुनिक इन्सास राइफलबाट प्रहरीमाथि पनि गोली चलाइएकोबारे खुलेका छैन ।

यो विषयको पुष्टि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएपछि मात्र पत्ता लाग्ने रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । भिडन्तपछि भेटिएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ भने भारतमा भारतीय अर्धसैनिक बल (एसएसबी) र भारतीय सेनाले प्रयोग गर्ने गरिएको उनले बताए ।

मृतक व्यक्ति भारतीय भएकोले सो हतियार पनि भारतबाटै आएको हुनसक्ने अनुमान गरिएको छ । तर भारतमा पनि एसएसबी र भारतीय सेनाले मात्र प्रयोग गर्ने इन्सास राइफल कसरी डाका समूहको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान हुने उनले जानकारी दिए ।