काठमाडौ २८ कात्तिक । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तीक्ष्ण क्षमता भएका ९ ओटा कुकुर ल्याउने भएको छ । नेपाल प्रहरीको कुकुर तालिम स्कुलले संयुक्त राज्य अमेरिकाबाट ‘ब्लड हाउन्ड’ र ‘बेल्जियन सेफर्ड’ प्रजातिका त्यस्ता कुकुर ल्याउन लागेको हो । ९ मध्ये ६ ओटा नेपाल प्रहरीले खरिद गरेर र तीन ओटा अमेरिकी सहयोगमा ल्याउन लागेको हो ।

dogअपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिमप्राप्त दक्ष कुकुरको आवश्यकता पर्ने भएकाले ती कुकर खरिद गर्न लागिएको स्रोतको दाबी छ । खरिद गर्न लागिएका ती कुकुरहरू हाल प्रहरीसँग भएकाभन्दा निकै सुघ्ने क्षमता र निकै तीक्ष्ण भएको प्रहरीको दाबी छ ।स्रोतका अनुसार यहाँका कुकुरले ६० घण्टासम्मको सुघ्ने क्षमता राख्छन् । तर, अहिले खरिद गर्न लागिएका कुकुरले घटना भएको ९० घण्टासम्मको अवस्थालाई सँुघेर पत्ता लगाउन सक्छन् ।

नेपाल प्रहरीसँग अहिले अपराध अनुसन्धानलगायत सुरक्षा गतिविधिमा सहयोग गर्ने ७१ वटा तालिमप्राप्त कुकुर रहेका छन् । नयाँ प्रजातिका कुकुरको आगमनसँगै प्रहरीको अपराध अनुसन्धान क्षमतामा वृद्धि हुने अपराध अनुसन्धान विभागले जनाएको छ ।

प्रहरीले हत्यारा पत्ता लगाउने अभियुक्तको खोजी गर्ने र अभियुक्तले छाडेका प्रमाणहरू पत्ता लगाउने काममा आफूसँग भएका तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । यसैगरी विशिष्ट व्यक्तिहरूको भ्रमणस्थल, विमानस्थल, विशेष निगरानी राख्नुपर्ने क्षेत्रमा पनि तालिमप्राप्त कुकुरले सुरुमा चेक जाँच गर्दै आएका छन् ।
पछिल्लो पटक अमेरिकी सरकारले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा कुकुरको प्रयोगसम्बन्धी तालिमसहित तीनवटा ब्लड हाउन्ड प्रजातिका कुकुर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

ब्लड हाउन्ड अमेरिकालगायत विकसित देशमा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिएको एकदमै चनाखो प्रजातिका कुकुर हुन् । नेपाल प्रहरीले प्रयोग गर्दै आएको जर्मन सेफर्ड प्रजातिका कुकुरले २४ घण्टासम्मको पुरानो गन्ध लिन्छ भने ब्लड हाउन्डले ९० घण्टासम्मको पुरानो गन्ध लिएर अपराधीहरू पत्ता लगाउने काम गर्ने दाबी गरिएको छ ।