काठमाडौँ, २८ कात्तिक । भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ ।

nepal-rastra-ban11कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ ।
मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका लागि भारतीय रिजर्भ बैङ्कको निर्णयको प्रतीक्षामा रहेकाले सटही सुविधा पाउने अथवा नपाउने पिरलो सर्वसाधारणमा यथावत् छ ।

भारतीय बैङ्क तथा एटीएममा नोट साट्ने काम सुरु भइसक्दा पनि नेपालमा यसबारे औपचारिक जानकारी नआउँदा द्विविधा थप बढ्दो छ । नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले भने आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिएको छ । नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल भइरहेको राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

केन्द्रीय बैङ्कलाई बैङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच सय र एक हजारका दुई करोड ५२ लाख भारतीय नोट सञ्चित रहेको पाइएको छ । त्यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमा गरी ८० लाख भारु प्रचलनमा रहेको तथ्याङ्क राष्ट्र बैङ्कले पाएको छ । राष्ट्र बैङ्कले अहिलेसम्म तीन करोड ३६ लाख ९० हजार भारतीय रुपियाँको विवरण पाएको शिवाकोटीले जानकारी दिए ।

अझै पनि केही बैङ्क तथा वित्तीय संस्थाको शाखाबाट पूरा विवरण नआएकाले २० लाखसम्म रकम बढ्नसक्ने राष्ट्र बैङ्कको अनुमान छ ।
एक हप्ताभित्र टुङ्गो नोटमा प्रतिबन्ध लगाउने विषय भारतीय सरकारको घोषणा भएकाले रिजर्ब बैङ्क आफैँले यसमा निर्णय गर्न नसक्ने कुरा राष्ट्र बैङ्कलाई जानकारी गराइसकेको छ तर नोट सटहीका लागि भारत सरकारले सीमितमात्र समय तोकेको र नेपालभित्र पनि सोही समयभित्रै साट्नुपर्ने बाध्यता रहेकाले अबको एक हप्ताभित्र निर्णय आउनसक्ने प्रतीक्षामा राष्ट्र बैङ्क रहेको छ ।

भारतीय नोट सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैङ्कले परराष्ट्र, गृह र अर्थ मन्त्रालयलाई समेत जानकारी गराइसकेको छ । भारतीय सरकारको निर्णय भएकाले राष्ट्र बैङ्कले नेपालस्थित भारतीय राजदूतावासलाई सरकारी स्तरमा पहलका लागि आग्रह गरिसकेको छ ।
विगत १४ वर्षदेखि नेपालमा पाँच सय र एक हजारका भारतीय नोट प्रतिबन्ध रहेको र डेढ वर्षअघि मात्र प्रयोगका लागि रिजर्ब बैङ्कले अनुमति दिए पनि राष्ट्र बैङ्क आफैँले भने पाँच सय र एक हजारका नोटप्रयोगमा ल्याएको थिएन ।