
दिपक बोहरा । तुलसीपुर २८ कात्तिक ।
दाङमा पनि लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग परिक्षण गर्ने किट ल्याउन लागिएको छ । दाङमा डेंगु संक्रमण हुनेको संख्या थपिदै गएपछि परिक्षण गर्ने आरडिटि किट दाङ ल्याउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । यस अघि दाङ्मा डेँगु रोग परिक्षणका लागि किट उपलब्ध थिएन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य अधिकृत जनार्दन गौतमका अनुसार उक्त डेँगु परिक्षण गर्न नेपालगंज तथा काठमडांै जानुपर्ने बाध्यता थियो ।
तर उक्त किट आएसंगै अब दाङमै डेँगु परिक्षण गर्न सकिने उनले बताए । दाङ्मा संक्रमण थपिन सक्ने भन्दै उक्त किट दाङ ल्याउन लागिएको उनको भनाई छ । उनले भने ‘ दाङको बिभिन्न स्थानमा लामखुट्टेका थुप्रै लार्भा भेटिए , जसले गर्दा संक्रमित अझै बढन् सक्ने भएकाले उक्त किट ल्याउन लागिएको हो । ’
उक्त किट् दाङमा ल्याएसंगै डेँगुका लक्षण देखिएका बिरामीको अञ्चल , उपक्षेत्रीय , जनस्वास्थ्य लगायत अन्य प्राथामिक स्वास्थ्य चौकिबाट स्वास्थय परिक्षण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनेल भने ‘ स्वास्थ्य बिभागले किट पठाईसकेको छ , अबको एक दुई दिनमा दाङ आई पुग्छ । ’उक्त किट जनस्वास्थ्य कार्यालय , अञ्चल अस्पताल , उपक्षेत्रीय अस्पताल तथा केही प्राथामिक स्वास्थ्य चौकीमा राखिने फोकल पर्सन चन्दले बताए ।
दाङ्का ६ जनामा संक्रमण
दाङमा थप दुई जनामा डेँगु सक्रमण देखिएको छ । पछिल्लो समय दाङ पुरन्धारा ९ की भिमा ओली र जमुना हमाललाई डेँगुको लक्षण देखिएको छ । अहिले भिमाको नेपालगंजमा आईसियूमा राखेर उपचार भईरहेको छ । हमाल उपचार पछि घर फर्केका छन् । यो संगै दाङमा डेँगु संक्रमितको संख्या ६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले दिएको जानकरी अनुसार लमही ९ का ४५ बर्षीय जगतराम चौधरी ,तुलसीपुर ९ का ४१ बर्षीय अमर बहादुर डिसी, तुलसीपुर ८ का भागवता पाखे्रेल र लमही १० का ४५ बर्षीय सीता खनाल डेँगु संक्रमित भएका छन् । यी मध्ये लमही ९ का ४५ बर्षीय जगतराम चौधरी निको भएपछि घर फर्किएका छन् । भने अन्यको उपचार भईरहेको छ । दाङमा कात्तिक ११ देखी डेङ्गुको संक्रमण देखिएको अधिकृत गौतमले बताए ।
तुलसीपुरमा लामखुट्टेका लार्भा नष्ट गरियो
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले तुलसीपुरका बिभिन्न स्थानमा रहेका लामखुट्टेका लार्भा नष्ट गरेको छ । यहि २४ र २५ गते लार्भा खोज्ने अनी नष्ट गरेको फोकल पर्सन चन्दले जानकारी दिए । उनका अनुसार लार्भा खोज्न र नष्ट गर्नका लािग तुलसीपुरका २६ स्वायंसेवीकालाई परिचालन गरिएको थियो । तुलसीपुर नगरपालिका ४, ५, ६,८ र ९ वडाका करिब १५ सय घरमा गएर सचेतना दिईनुका साथै लामखुट्टेका लार्भा खोजेर नष्ट गरिएको छ । तुलसीपुर क्षेत्रमा गाडिका टायर, प्लाष्टिकका बोतल, गमला, ट्वाईलेटमा राखिएका भाँडामा जम्मा भएको पानीलगायतमा बढि लार्भा भेटिएको फोकल पर्सन चन्दले बताए । राप्ती समाचार










