एजेन्सी, २७ कार्तिक । इराक स्थित मोसुल शहरमा विद्रोही संगठन इस्लामिक स्टेट आइएसले ४० जना सर्वसाधराणको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हत्या गरेलगत्तै उनीहरुको शव मोसुलका विभिन्न स्थानका बिजुलीका पोलमा झुन्ड्याइएको बिबिसीले जनाइएको छ । मध्य मोसुलका एक व्यक्तिलाई कब्जामा रहेका बेला मोबाइल फोनको प्रयोग गरेको भन्दै आइएसले हत्या गरेको छ ।
इराकी, अमेरिकी गठबन्धन र अरब मूलको गठबन्धन सेनाको संयुक्त पहलमा मोसुल सहरलाई कब्जामुक्त गर्ने कोशिस गरिरहेको छ । आइएसले हत्या गरेका ४० नागरिक देशद्रोही र इराकी सेनाका एजेन्ट रहेको आरोप लगाएको छ ।
आइएसले गत बुधबारमात्रै मोसुलको उत्तरी क्षेत्रमा रहेको घाबाट सैन्य क्याम्पनजिक २० सर्वसाधारणको गोली हानी हत्या गरेको थियो । उनीहरुमाथि जानकारी चुहाएको आरोप लागेको छ ।