इन्द्रेणी संवाददाता

दाङ, २७ कार्तिक । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दाङका केही शहरहरुलाई मोडल सीटीको रुपमा विकास गरिने बताएका छन् । प्रेस सेन्टर दाङले आज विहान घोराहीमा गरेको पत्रकार भेटघाटमा यसको तयारीमा छलफल भइरहेको बताए । ‘विकासमा दाङले के पाउने त भन्दा यहाँका केही सहरहरुलाई मोडल सीटीको रुपमा विकास गर्ने योजना छ’, उनले भने, ‘त्यसको तयारीमा हामी छौं ।’

15053228_1249316648465005_1672778749_oत्यस्तै अन्य विकासका गतिविधिलाई पनि तिब्रताका साथ लैजाने महराको भनाइ छ । अहिले बन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थललाई सञ्चालनमा ल्याउने, भालुवाङदेखि हापुरर सुर्खेतसम्मको सडकको विकास गर्ने, दाङदेखि प्युठानसम्मको सडक विस्तार गर्ने, अन्तराष्ट्रिय विमान स्थाल निर्माण, माडीमा हाइड्रो प्रोजेक्ट निर्माण गर्ने लगायतका विषयहरुलाई प्राथमकितामा रहेको उनले जानकारी दिए । तत्काल माडीलाई दाङमा ल्याउन सम्भव नभएको र त्यसको लागि ठूलो लगानी गर्नुपर्ने भएकाले पहिले माडीमा नै १२ दशमलव ५ को माडी हाइड्रो प्रोजेक्ट स्थापन गर्ने मन्त्री महराले बताए ।

वर्तमान राजनीतिक प्रस्थितीको पंशंगलाई कोट्याउदै उपप्रधान मन्त्री महराले अहिलेको सरकारको मुख्य प्राथमकितामा संविधान संसोधन, स्थानीय तहको निर्वाचनलगायतका विषय भएको बताए । निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगबारे सञ्चाकर्मीहरुले उठाएको जिज्ञासामा महराले त्यसको कामले गति पाइरहेको जानकारी दिए ।

अबैद्ध भारु नोट साटिदैनन्

यसैक्रममा अर्थमन्त्री महराले भारतले गरेको पाँच सय र एक हजारको नोटको विषयमा भने बैधानिक रुपमा भित्रिएका नोट साटिने बताएका छन् । भारतसँग त्यसको बारेमा कुरा भइरहेको उल्लेख गर्दै त्यसको केही निकास खुल्ने बताए । तर, अबैधानिक रुपमा भित्रिएका भारु नोट भने नसाटिने उनले बताए । ‘भारु नोटको विषयमा बैधानिक रुपमा भित्रिएका नोट साटिन्छन्, त्यसको बारेमा भारतसँग कुरा भइरहेको छ, तर अबैधानिक रुपमा भित्रिएका नोट साटिदैनन्’, महराले भने ।