काठमाडौँ, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक मसान्तभित्र प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले)सँगको सहकार्य र सहमतिमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ ।
सरकार गठनको सय दिन पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट नागरिकलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभयो । संविधानमा असन्तुष्ट दलसँग सहमति कायम गरी संविधान संशोधनको प्रस्ताव तयार भइरहेको बताउँदै उहाँले एमालेको समर्थनमा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरिने दाबी गर्नुभयो ।
प्रचण्ड नेतृत्वमा बनेको सरकारले शुक्रबार सय दिन पूरा गरेको छ । साउन १९ गते प्रचण्ड व्यवस्थापिका संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । उहाँले साउन २० गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको मुख्य सहयोगमा बनेको वर्तमान सरकारले सय दिनको अवधिमा गरेका कार्य शुक्रबार सङ्क्षिप्तमा सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबारसम्म प्रमुख तीन दलका नेताबीच समीक्षात्मक बैठक बस्ने र आइतबारदेखि संशोधन प्रस्तावको प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । प्रचण्डले सरकारले त कात्तिक २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो तर प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमतिमा दर्ता गर्ने कुरा भएपछि अलि ढिला हुन गएको हो भन्नुभयो ।