दीपबहादुर घर्ती
जाजरकोट, २५ कार्तिक । आफ्नो बगैंचाको सुन्तलालाई सुदृढ गर्न ढिमे–१ दम्दालाका शक्तिबहादुर वली राम्रोसंग दिनमा खादैनन् भने, रातमा सुत्दैनन् तर पनि, सुन्तला बगैचाको कामले वलीलाई भ्याई नभ्याई भईरहेको छ । कुल ३० रोपनी जग्गामा सुन्तला खेती गरेका वलीका दुई वटा बगैचाको सम्पुर्ण काम गर्नलाई सिजनमा १२ जना स्थानिय नागरिकलाई ३ महिना सम्म आफुले रोजगारि दिए राखेको वलीको दावी छ ।
दम्दालामा २०३७ सालमा आफुले सुन्तला खेति गर्न थाल्दा सुन्तला खेति गर्ने आफु मात्र एक्लो किसान भएको वलीको भनाई रहेको छ । आफुले गरेको सुन्तला खेतिवाट अन्य किसानहरु पनि प्रभावित भएर हाल दम्दालामा मात्र दुई सय किसानहरुले व्यबसायिक रुपमा सुन्तला खेति गरेको शक्ति बहादुर वलीले वताउछन् ।
दुई वटा सुन्तला बगैचावाट बार्षिक रुपमा ११ लाख रुपैया आम्दानी भएपनि मजदुरी तथा श्रम ज्याला, सुन्तला ढुवानी लगाएतका खर्चहरु कटौती गरेर बार्षिक ६ लाख रुपैया वचत हुने वलीले जानकारी दिए । ३७ सालवाट थालिएको सुन्तला खेति ब्यबसायवाट आफुले जेठो छोरा दिपक वलीलाई एचए पढाएको, माईलो छोरा बुद्धी वलीलाई सिभिल ईन्जिनियर पढाएको, साईलो छोरा लोकेन्द्र वलीलाई दोलखामा जेटि पढाई रहेको र कान्छो छोरा आशिष हाई स्कुलमा पढिरहेको वलीले वताए ।
त्यसैगरि सुन्तला खेतिवाटै भएको आम्दानीवाट दम्दालाको जिउलामा ३० रोपनी खेत, सुर्खेतमा २७ लाख हालेर एउटा घडेरी, ९ लाख हालेर जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारामा अर्को घडेरी खरिद गरेको र १० लाख खर्च गरेर जिल्ला सदरमुका खलंगाको नयाँ बस्तिमा पक्कि घर वनाएको वलिले जानकारी दिए ।
हाल ६२ बर्षिय वली आफु सानै १० बर्षिय उम्मेरमा रुमुक चौरजहारीमा लाग्ने शंकपिपल मेलामा गएको र त्यहि मेलामा पहिलो पटक सुन्तला देखेको र खाएको वताए । १० बर्षिय उम्मेरमा मात्र सुन्तलको स्वाद चाँखेका वलीले आफु ठुलो भएपछि सुन्तला खेति गर्ने रहर त्यहि मेलावाटै जागेको वताए ।
सानो उम्मेरमै जागेको रहरलाई आफुले पुरा गरेको उनको भनाई रहेको छ । कृषि पेशालाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गर्दै आएका शक्तिबहादुर वलीले आगामी दिनमा आफुले सुन्तला खेति मात्र नभएर, कागती, जुनार, अलैची, किवी, केरा, आँप, लगाएतका बहु कृषि बगैचाहरु वनाउने सोचेको वताई रहेका छन् ।