काठमाडौं, २४ कार्तिक । भारतले गएरातिदेखि भारु ५ सय र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।
भारतसँग एक हजार ८ सय किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौँ नेपाली नागरिकसँग अर्बौ रकम भएको अनुमान छ ।
त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ । त्यसैगरी भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्न सक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ । भारतले राहदानी र स्थायी लेखा नम्बर ९प्यान० सहित उक्त दरका नोट साट्न सक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधवार नै निर्देशन जारी गरेर बैङ्क, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । त्यसैगरी भारतीय केन्द्रीय बैङ्कलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै सुदूरपश्चिम र मध्यपश्चिममा लाखौँ नेपाली नागरिक भारतमा रोजगारीमा छन् । उनीहरुलाई पनि भारतको पछिल्लो निर्णयले ठूलो असर पुर्याउने भएको छ । सबै क्षेत्रमा त्यसको असर पर्ने नेपाल राष्ट्र बैङ्क विदेशी मुद्रा विनिमय तथा विश्लेषण महाशाखाका पूर्व निर्देशक कल्याणबन्धु अर्यालले बताए । उनका अनुसार सर्वसाधारण एवम् अनौपचारिक रुपमा कसैले भारतीय रुपैयाँ जम्मा गरेर राखेको भए ती सबै रुपैयाँ बेकाम हुने भयो । यसले पनि समग्र मुद्रा बजारमा असर पार्छ ।
नेपालका व्यापारी कसैले भारतीय मुद्रा ठूलो मात्रामा राखेको भए त्यसले समस्या निम्याउन सक्ने अर्यालको भनाइ छ । उनका अनुसार साधारणतया बलियो मुद्रामा कालो धन राख्ने भएकाले पनि भारतले गरेको अमौद्रिकीकरणको असर नेपालमा पर्छ ।
भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमा मात्र भारतीय मुद्रा चलन चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए । नेपालमा पहिले रेलमार्फत ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ ।
भारतीय कानूनले नेपालमा भारु ५ सय र एक हजार दरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भए पनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्त दरका नोट ब्यावहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबद्ध हुन्छ । उनले नेपालको बैङ्किङ प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैङ्क र सरकारले नै कूटनीतिक तवरले समाधान गर्नुपर्छ भने । नेपाली बजारमा पर्ने असरलाई समाधान गर्ने विषयमा आजैदेखि राष्ट्र बैङ्कले छलफल शुरु गरेको भन्दै प्रवक्ता पौडेलले चाँडै भारतीय रिजर्भ बैङ्कलाई पत्राचार गरिने जानकारी दिए ।
