जाजरकोट, २४ कार्तिक । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो जिल्लाको ऐतिहासिक तथा पुरातात्विक महत्व वोकेको जाजरकोट दरबार जीर्ण बन्दै गएको छ ।

jajarkot-darbar1-624x351मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण दरबारको अस्तित्व नै सङ्कटमा परेको बताए । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।

दरबार जीर्ण भएर कुरुप देखिएपनि यस्तमा कसैको चासो छैन । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए ।

साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेका छन् ।