काठमाडौं, २४ कार्तिक । धेरैजसो सरकारको वार्षिक कार्यक्रम तथा बजेटमा समावेस भएकै कार्यक्रमहरु कार्यान्पयन हुँदैनन् । तर पहुँचका आधारमा सरकारले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश नभएका आयोजनाहरूका लागि बजेट विनियोजन गर्ने तयारी गरेको छ ।
संसद्ले पारित गरेको बजेटभन्दा बाहिरका यस्ता कार्यक्रमहरू राजनीतिक प्रभाव र पहुँचका भरमा छनौट भएका हुन् । मुख्यसचिव डा. सोमलाल सुवेदी अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो निर्णय गरेको हो ।
कार्यालयले सोमबार सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बन्धित सार्वजनिक विवरणमा उल्लेख भएअनुसार बजेट तथा कार्यक्रममा समेट्न नसकिएका नयाँ कार्यक्रमको हकमा अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय भएको उल्लेख छ । सम्बन्धित मन्त्रालय र निकायहरूलाई यथाशीघ्र यस्ता कार्यक्रममा बजेट व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।











