तुलसीपुर, २२ कार्तिक । नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीबहादुर चौधरीले दाङलाई प्रेदश नं. ५ को राजधानी बनाउन यसअघिको सिमांकनमा हेरफेर हुन लागेको बताएका छन् । उनले त्यसका लागि राप्ती अन्तरगतका पहाडी जिल्लाहरु रोल्पा , प्यूठान र रुकुमको पुरै भाग अव प्रदेश नं. ६ मा मिलाउने गरि सिमांकनको तयारी भइरहेको योजना सुनाए । तर रोल्पा र प्यूठानको संभावना प्रदेश नं. ४ मा पनि उत्तिकै रहेको उनले बताए ।
सांसद चौधरीले भने ‘ हाल प्रदेश नं. ५ अन्तरगत रहेका गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाहरु प्रदेश नं. ४ मा जाने सहमति दलहरुका विचमा भएको छ ।’ अब प्रदेश नं. ५ नवलपसारी, रुपेन्देही , कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरु कायम हुने सांसद चौधरीले बताए ।
उनले सरकार र मधेसी मोर्चाले थालेको छलफलमा कैलाली र कञ्चनपुरलाई उपश्वायत्तता बनाउने छलफल भइरहेको बताए । दाङ, बाँके, बर्दीया र कपिलबस्तुले दाङलाई राजधानी बनाउने समर्थन गर्ने लगभग निश्चित प्राय रहेकोले अब दाङ राजधानी बन्ने उनले ठोकुवा गरे ।
यसअघिको सिमांकन अनुसार प्रदेश नं. ५ मा रहेका गुल्मी, अर्घाखाँची, पाल्पा, रुपेन्देही र नवलपरासीले दाङलाई समर्थन गर्ने स्थिति नरहेकोले दाङ राजधानी बन्ने संभवना झिनो रहेको उनले बताए । सांसद चौधरीले भने ‘ यदि पछिल्लो पटक हुन लागेको सिमांकनको हेरफेर संभव भएमा दाङ राजधानी हुने निश्चित हुन्छ ।’ तर, कतिपयले राजनीतिक दलहरुले पहाडी जिल्लाहरु अलगत गरेर सिमांकन गर्न नहुने तर्क अगाडि सारेका छन् ।
सांसद चौधरीले निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्की, संविधानको संशोधन र मधेसीका मागहरु प्याकेजमा सम्वोधन गर्नका लागि काँग्रेसले गृहकार्य थालेको बताए ।
