प्यूठान, २१ कार्तिक । यस वर्ष प्युठानमा धान उत्पादन घटेको छ । गत साउनमा आएको बाढीले जिल्लाका विभन्न स्थानमा लगाएको धान खेती वगाउदा उत्पादनमा घटेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।

dhan_0जिल्लाका धानखेतीका लागि उर्वर मानिने झिमरुक फाँटसहित जिल्लाका धेरै स्थानमा धानसहितको खेत झिमरुक नदीले कटान गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आवमा करीब ६२ मेट्रिक टनले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय प्युठानका वरिष्ठ कृषि विकास अधिकृत मधुसुदन घिमिरेले बताए । ‘गतवर्ष २३ हजार ४ सय ४२ मेट्रिक टन धान उत्पादन भएको थियो,’ उनले भने, ‘यस वर्ष २३ हजार ३ सय ८० मेट्रिक टन उत्पादन भयो ।’

२ हजार १ सय हेक्टर जमिन क्षेत्रफलमा फैलिएको झिमरुक फाँटसँगै जिल्लाभर ६ हजार ५ सय २५ हेक्टर क्षेफलमा धानखेती हुने गरेको छ । तर, गएको साउनमा झिमरुक नदी क्षेत्रमा २ सय ६ हेक्टर जमिन नदीले कटान एवं डुबान गरेको कृषि कार्यालयले जनाएको छ ।