घोराही २१ कार्तिक । राष्ट्रिय जनमोर्चा दाङले एक बर्षसम्म विविध कार्यक्रम गरी अक्टोबर क्रान्ति मनाउने जनाएको छ । जनमोर्चा दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरेर अक्टोबर ७ अर्थात् कार्तिक २२ गते अक्टोबर क्रान्ति भएको सतबार्षिकीको अवसर पारेर विविध कार्यक्रम गरी एक बर्षभरी कार्यक्रम गर्ने जनाएको हो ।
जिल्ला अध्यक्ष रेशम विसीको अध्यक्षतामा भएको कार्यक्रममा अक्टोबर सतबार्षिकी कार्यक्रम परिचालन समितिका सदस्य काशीनाथ पोखरेलले कार्तिक २२ गते अक्टोबर क्रान्तिको उद्घाटन कार्यक्रम रहेको जानकारी दिनुभयो । यस्तै २३ गते नारायणपुर, २४ गते तुलसीपुर, २५ गते गढवा र २६ गते भालुबाङमा कार्यक्रम हुने छन् ।
यस्तै मंसिर ११ गते घोराहीमा कार्यकर्ता प्रशिक्षण, मंसिर अन्तिम साता बृहत विचारगोष्ठी, पुस महिनाभरी जिल्लाका विभिन्न स्थानमा कार्यकर्ता प्रशिक्षण, भेला गर्ने, माघ महिनामा आर्थिक अभियान, फागुन, चैत्र र बैशाखमा मार्च अभियान, जेष्ठ महिनामा युवा तथा विद्यार्थीको संगठन विस्तार, असार महिनामा पर्यावरण संरक्षणका लागि बृक्षारोपण गर्ने, साउनमा समीक्षा गर्ने र भदौँ र असोजमा आदीबासी जनजातीको संगठन विस्ता गर्ने पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला सदस्य महेश रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव गणेश आचार्यले गर्नुभएको थियो ।