तुलसीपुर १९ कात्तिक । ईलाका प्रहरी कार्यालय तुलसीपुरका हालसालै सरुवा भएर आएका डिएसपीले आफुलाई खाममा आएको झन्डै एकलाख रुँपैया फिर्ता गरेको बताएका छन् । विहीवार ईप्रका तुलसीपरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले त्यस्तो बताउका हुन । प्रहरीलाई विभिन्न बाहानामा घुस दिएर गलत काम गराउन खोज्ने गिरोह तुलसीपुर बजारमा सक्रिय रहेको आफुले पाएको उनले बताए । उनले प्रहरीलाई घुसका रुपमा आएको करिब एक लाख रुपैयाँ फिर्ता गरेको समेत बताएका हुन ।
चाडपर्व तथा अन्य अवसर पारेर यहाँका व्यापारी तथा संघसंस्थाहरुको नाममा आउने निमन्त्रण कार्डसँग खाममा आएको रकम आफुले फिर्ता गरिदिएको उनले बताए । दशैंअघि यहाँ आएका डिएसपी लोकनाथ तिम्सिनाले प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर गलत काम गराउन खोज्ने गिरोहका कारण जिल्लाको शान्ति सुरक्षा नै खल बलिएको तर्क प्रस्तुत गरेका थिए ।
‘प्रहरीलाई विभिन्न बाहानामा खाममै पैसा आउँदो रहेछ, यो यहाँको पुरानै चलन हो जस्तो लाग्यो तर, म त्यस्तो प्रहरी हैन’ पत्रकारहरुसँगको भेटघाटका क्रममा उनले भने ‘त्यसरी यो अवधिभर आएको करिब एक लाखभन्दा बढी पैसा मैले सम्बन्धितहरुलाई फिर्ता गरेको छु ।’ शुभकामना कार्डसँग खाममा पैसा राखेर पठाउने व्यापारी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई उनी आफैंलाई सबैलाई बोलाएर अबदेखि यस्तो काम नगर्नसमेत चेतावनी दिएर पैसा फिर्ता दिएका थिए । त्योसँगै प्रहरीका लागि विभिन्नखाले मीठाई अनि खानेकुराहरु समेत प्रहरी कार्यालयमै पुगेको थियो । त्यसरी आएका पैसा तथा सबै खानेकुराहरु पठाउनेलाई प्रहरी कार्यालयमै बोलाएर चेतावनीसहित फिर्ता गरिदिएको उनको जिकिर थियो ।
समग्र दाङ जिल्लाभरमा तुलसीपुर क्षेत्र शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील सूचीमा प्रहरीले राखेको छ । खासगरी जुवा अड्डा र खुलेआम गुन्डागर्दीका कारण तुलसीपुर क्षेत्रमा आपराधिक गतिविधिहरु पनि बढी नै भइरहेको प्रहरीको आकंलन छ । डिएसपी तिम्सिनाले पनि तुलसीपुर क्षेत्रको मुख्य चुनौति जुवा अड्डा र गुन्डागर्दी नियन्त्रण नै भएको बताए । ‘यिनै गिरोहलाई संरक्षण गरिरहेकाहरुले नै प्रहरीलाई खुलेआम किन्न खोज्दा रहेछन्’ उनले भने ‘तर, म शान्ति सुरक्षाको सवालमा कसैसँग केही गलत सम्झौता गर्दिनँ ।’
खासगरी जुवा खेल्ने र खेलाउनेहरुको विशेष क्षेत्र तुलसीपुर नै मानिन्छ । प्रहरीको अनुसन्धान विभागले नै दाङको तुलसीपुर क्षेत्रलाई जुवा खेल्ने र खेलाउनेहरुका लागि प्रमुख सूचीमा राखेको छ । कैयौँपटक जुवा खेल्ने र खेलाउनेहरु लाखौं रकमको कारोबार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । ‘प्रहरीलाई पैसा, मीठाई र खानेकुरा दिएर शान्ति सुरक्षा खलबल्याउन पाइँदैन’ उनले भने ‘कानुनभन्दा बाहिर गएर कुनै पनि गलत क्रियाकलाप गर्नेलाई मैले कानुनअनुसार नै कारबाही गर्नेछु, शान्ति सुरक्षाको लागि कसैसँग सम्झौता गर्दिनँ ।’उनले थपे ‘ कतिपयको लागि त्यो लक्ष्मि पूजाको समयमा घर भित्रै आएको लक्ष्मि थियो होला तर, मैले त्यो स्विकार्न सक्ने अवस्था थिएन ।’ उनले तुलसीपुर क्षेत्रमा केही व्यक्तिहरुले गोप्य रुपमा खाम दिने, गोप्य कुरा छ भन्दै व्यक्तिगत रुपमा भेटेर खाम वा मिठाई दिएर प्रहरीलाई प्रभावमा पार्न खोज्ने प्रवृति रहेको आँफूले पाएको पत्रकारहरुलाई बताए ।
नागरिकलाई शान्तिसुरक्षा र अमन चयन कायम गर्न तुलसीपुरमा चुनौतीका रुपमा रहेको गुण्डागर्दी र जुवातास अखडा नियन्त्रणमा प्रहरीले कुनै कसर वाँकी नराख्ने तिम्सिनाले वताए । प्रहरीको केन्द्रीय कमाण्डो टोलि वाट काजमा तुलसीपुरमा आएका प्रहरी नायव उपरीक्षक तिम्सिनाले प्रहरी अपराधि संग नमिलेमा ८० प्रतिसत अपराध घट्ने बताए । अपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुर्याउन पत्रकार लगायत आम नागरिकमा आग्रह गरेका थिए । यसैविच दशै तिहारको अवधिमा तुलसीपुरक्षेत्रवाट प्रहरीले सवारी चेकीङ वाट झण्डै ३ लाख ३१ ह्जार बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियम उलंघन गरेका सवारी साधन ,नदिजन्य पदार्थको उत्खन्न गरी ओसार पसार गरेका टयाक्टर र मादक पदार्थ सेवन गरी सवारी चलाएकाहरुलाई कार्वाही गर्दा उक्त रकम संकलन भएको हो । ट्राफिक नियम उलंघन गरेका ५सय ९० सवारी साधनवाट ३ लाख ३१ हजार,नदिजन्य पदार्थको उत्खन्न र ओसारपसार गरेका ३५वटा टेक्टर वाट १लाख ७५हजार र मादक पदार्थ सेवनगरेका ३१चालक को कार्वाहि वाट ३१हजार गरी ३ लाख ९७हजार राजश्व संकलन भएको डिएसपी तिम्सिेनाले बताए । उनले शान्ति सुरक्षाका साथै कानुन विपरित हिडनखोज्ने जो कोहीलाई पनि कार्वाहीगर्न प्रहरीले कुनै कसर वाँकी नराख्ने चेतावनी समेत दिए ।











