काठमाडौं– काठमाडौं महानगरपालिकाले नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरेको छ । बिहिबार साँझ राष्ट्रियसभा गृहमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा काठमाडौं महानगरपालिकका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई साँचो हस्तान्तरण गरि नागरिक अभिनन्दन गरेका हुन् ।

indian-president-4नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले विगतमा भन्दा यस पटकको भ्रमणमा आफूले काठमाडौंबासीबाट न्यानो माया पाएको बताए । उनले नेपाल र भारत खुला सिमाना भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा फरक खालको सम्बन्ध भएकाले विश्वमै नौलो भएको बताए ।

विशिष्ट पाहुनालाई भ्रमणमा आएको बेला नगरबासीले स्वागतस्वरुप साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको छ । विशिष्ट व्यक्ति तथा शाहसिक काम गरेका व्यक्तिलाई ‘तपाइँलाई जुनसुकै बेलामा पनि नगरमा घुम्न आउन स्वागत छ’ भन्ने आसयमा सम्मान स्वरुप साँचो हस्तान्तण गर्ने प्रचलन छ । रोमनकालदेखि चलेको यो क्रम हाल पनि युरोप र अमेरिकामा प्रचलनमा छ ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गरेका छन् ।

कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

त्यसैगरी भारतका रक्षाराज्यमन्त्री सुवास भामरे र नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो । सो अवसरमा राष्ट्रपति मुखर्जीले काठमाडौँ महानगरपालिकाको पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई कार्यकारी प्रमुख तामाङले उपत्यकाको काठको कलात्मक ढोकाको प्रतीक र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गरेका थिए ।

रातोपाटीबाट