स्थानीयको जाँगर र दानवीरको दानले धारापानी यतिबेला देशकै समुदायको लगानीमा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको छ, संभवत देशकै सबै भन्दा ठूलो राशीमा स्थानीयको लगानीले  धार्मिक पर्यटन प्रवद्र्धनको अभ्यास गरिएको दावी छ, यसले राज्यलाई समेत पूर्वाधार विकासमा लगानी गर्न दबाव दिएको छ । अहिलेसम्म समुदायले दुइ करोड १५ लाख रुपैया लगानी गरेका छन् भने आगामी योजनामा करिब १७ करोड रुपैयाको प्रस्ताव गरिएको बेला राज्यले सडक सुधार तथा प्रवद्र्धनका लागि ७ करोड ४२ लाख खर्च गरेको तथ्याँक छ ।
 

धनिराम शर्मा ( ऋतुविचार )

dharapani-mandir

स्थानीय दानवीरहरुको लगानी(दान) र स्थानीयको नेतृत्वमा दाङको धारापानीमा धार्मिक पर्यटन प्रवद्र्धनको अभ्यास भैरहेको छ । सरकारले वर्षेनी पर्यटन विकासको नाँउमा करोडौ रुपैया खन्याँउदा पनि  परिणाम खासै नदखिएको बेला समुदायको पहलमा भएका प्रवद्र्धनात्मक अभ्यासले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ । एकताका गुमनाम जस्तै बनेको पाण्डवेश्वरधाम समुदायको पहलले  यतिबेला धार्मिक आस्थाको धरोहर मात्र होइन अवलोकनकर्ताको गतिलो आकर्षणको केन्द्र बन्दै गएको जानकारहरु बताँउछन् ।

20161006_125958एक थुकी सुकि सय थुनी नदी भने जस्तै समुदायको अंश अंशबाट संकलित आर्थिक श्रोतले यतिबेला धारपानी आफ्नो रुप बदलेको हो । एकताका झाडी भित्र हराइरहेको पाण्डवेश्वर धाम यतिबेला सर्वाधिक चर्चामा पुगेको छ । स्थानीयको अथक प्रयासपछि धारपानीले आफनो मुहार फेर्न सफल  भएको हो । दानवीरहरुको धन र स्थानीयको जाँगरिलो मनले साथपाएपछि हिजोको  धारपानी आजको धारपानीमा आकाश पातल भिन्नता आएको छ, विशेष गरि शिवरात्रीको दिन मेला लाग्ने पाण्डवेश्वरमा वर्षेनी करिब ५ लाख मानिसले अवलोकन गर्ने गरेको अनुमानित तथ्याँक छ ।  यतिबेला देश विदेशबाट दाङ आउनेहरुको लागि अवलोकन भ्रमणको गतिलो गन्तव्य बन्दै गएको छ, धर्ममा विश्वास गर्ने होउन या अध्ययन अवलोकन गर्ने जोकोही पनि धारपानी पुग्ने गरेको मन्दिरका पुजारी बताँउछन् ।

20161006_130010महाभारतको धार्मिक ग्रन्थसंग सम्बन्धित तथ्य अनुसार पाँच पाण्डवले यज्ञ गरेर स्वर्गद्वारीहुदै स्वर्ग पुगेको धार्मिक विश्वास छ । ऐतिहासीक र धार्मिक हिसाबले निकै पुरानो मानिएको पाण्डवेश्वर धामको संरक्षण र उत्खन्न विसं २०४० साल तिर लक्ष्मीकान्त उपाध्यायले गरेको बताइन्छ, यद्यपी हालको प्रवद्र्धन तथा विकासका लागि करिब ५ वर्षयता  स्थानीय अगुवाहरुले गर्दै आएका छन् ।

पर्यटनसम्वद्ध सरकारी निकाय स्थानीय निकाय कसैको ध्यान नपुगेर झाडीमा हराइरहेको  पाण्डवेश्वर धाम यतिबेला मध्यपश्चिमको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचय बनाउदै छ, यो त्यत्तिकै भएको पनि होइन स्थानीयको लगानीले साथ दिएपछि पाण्डवेश्वरले नयाँ परिचय बनाएको पर्यटन सम्बद्धहरु बताँउछन् । सरकारी निकायले खासै ध्यान नदिएपनि स्थानीय दानवीरहरुको सहयोग र आफूहरुको योजनाका कारण यतिबेला पाण्डवेश्रले नयाँ रुप दिन सकेको पाण्डवेश्वर धाम व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताए , धार्मिक आस्थाको धरोहरको संरक्षण गर्न हामीले योजना दिएपछि दानवीरहरु स्वतस्फूर्त सहयोग गर्न तत्पर हुनु भयो, जसले यति ठूलो परिवर्तन ल्याउन सक्यो अधिकारीले भने । अधिकारीका अनुसार हालसम्म २ करोड १५ लाख बढीको स्वर्तश्फूर्त दान सहयोग भएको छ । देशभरका धार्मिक स्थलहरुमा छोटो समयमा स्थानीयको यति ठूलो राशीको सहयोग संभवत धारापानी नै  भएको जानकारहरुको दावी छ ।
20161006_130148
धारापानीका मुख्य आकर्षण के हुन त ?
ऐतिहासिक तथा धार्मिक महत्वले निकै वैभव मानिने धारापानी करिब पाँच वर्ष यता धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ, स्थानीयको अथक प्रयासले धारापानीले नयाँ परिचय बनाएपछि मानिसहरु पुग्ने गरेको छन् । स्थानीयको नेतृत्वमा मन्दिर परिसरमा विश्वकै ठूलो त्रिशूल, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल जोडी, एक सय आठ समीको वृक्ष, कुण्ड, पाण्डव शैयन शिला संरक्षण मन्दिर परिसरको साजको वृक्ष, ठूलो शिलामा कुँदिएको शिलामा विष्णुपादुका  जलकुण्ड छ  विभिन्न देवी देवताको मन्दिरसंगै मनोराम चुरेको काखमा अवस्थित जंगल अनि उत्तरतर्फको सुन्दर दाङ उत्पत्यका बबई(सरयू) नदीको मनोमोहक फाँट इत्यादीले मानिसहरुलाई लोभ्याउने गर्दछ ।

सरकारी लगानी कस्तो छ ?
स्थानीयको दबाव तथा सक्रियतापछि सरकारी ध्यान पाण्डवेश्वर धाम धारापानीको पूर्वाधार विकासमा पुग्न थालेको छ, स्थानीयको सक्रियताले सडक स्तरउन्नती हुने भएपछि धारापानीको महत्वलाई झनै उचाईमा पुराउने भएको छ , सडक स्तरउन्नती नहँुदा धाम पुग्न त्यत्ति सजिलो थिएन तर अब सडक कालोपत्रे हुने भएपछि हिलो र धुले सडकको अन्त्य हुने भएको छ, सरकारले आर्थिक वर्ष २०७२/७३ देखि सडक स्तरउन्नती गर्न लगानी गर्न थालेको छ ।

20161006_130215घोराही देखि धामसम्म पुग्न सरकारले ७ करोड रुपैया लगानी गरेर कालोपत्रे सडक निर्माण गर्दैछ भने मन्दिरको आन्तरिक पूर्वाधार निर्माणमा ४२ लाख रुपैया लगानी गर्दै छ । सरकारी निकायहरु पर्यटन मन्त्रालय, भवन डिभिजन कार्यालय, जिविस लगायतले समते हात बढाएका छन् । जसका कारण पूर्वाधारमा केही सुधार आउन थालेको हो । पूर्वाधार प्रवद्र्धनमा सुधार आएपछि मान्छेहरुको रोजाईमा धारापानी पर्दै गएको हो ।

यद्यपी सरकारको लगानी अझै पर्याप्त छैन, संभावित सरयू बबई करिडोरको क्षेत्र, स्वर्गद्धारीको आधार क्षेत्र पनि भएकोले यहाँको विकासमा यथेस्त सरकारी लगानी आवस्यक छ,महाभारत ग्रन्थसंग सम्बन्धित रहेको पाण्डवेश्वरको विकासको लागि सरकारले अझै लगानी गर्न सके समुदायको थप हौसला बढने र धारापानी धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा परिचित हुने  धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । छोटो समयमा धारापानीले गरेको प्रगतिको परिणामले प्रवद्र्धनमा लागेका अगुवाहरुलाई हौसला दिएकोले धारापानी छिट्टै नमुनायोग्य पर्यटन गन्तव्य बन्ने सचिव आचार्यले दावी गरे,स्थानीयको योजनामा धारापानीदेखि सुनकोटसम्म पुग्न पाँच हजार सिढी, र घण्ट निर्मााण लगायतका पूर्वाधारमा विकास गर्न करिब १७ करोडको प्रस्तावना समेत बनेको छ ।

20161006_133734संभावित बबई(सरयू) टुरिज्म करिडोरको चौघेरामा धारापानी
सरयू नदीको तटमा अवस्थित भारतको अयोध्या जस्तो धार्मिक पर्यटकीय क्षेत्रसंग सिधा सम्बन्ध राख्न सक्ने संभावित सरयू करिडोरको चौघेरामा धारापानी पर्दछ, नेपाली पर्यटक मात्र होइन भारतीय पर्यटकहरुलाई बर्दियाको राष्टिय निकुन्ज हुदै बबईको किनारै किनारबाट स्वर्गद्धारी पुराउन सकिन्छ, भारतमा सरयूको निकै महिमा छ, सरयूको उत्पत्ती क्षेत्रको हिसाबले दाङको सर्वाधिक महत्व छ भने दाङमै रहेको पाण्डवेश्वर धाम सबै हिन्दुहरुको आकर्षण केन्द्र बन्न सक्छ यद्यपी आवस्यक पूर्वाधार लगायतका क्षेत्रमा स्थानीयको थप सक्रियता र राज्यको लगानी बढ्न सके त्रिदेशी पर्यटनमार्गमा जोड्न सकिने प्रवल संभावना छ । यद्यपी धारापानीको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रशार गर्न सके विश्वका करिब एक अर्व हिन्दुहरुको आकर्षणको केन्द्र त बन्छ नै अन्य धर्मसंग सम्बन्धित मानिसहरुको पनि अवलोकनको गन्तव्य बन्न सक्ने विकास सम्वद्धहरुको दावी छ ।

पाँच पाण्डवको आश्रम क्षेत्रले चर्चित धारापानी र स्वर्गद्धारीको आफ्नै प्राचिन अन्तर सम्बन्ध छ, पाण्डवहरु धारापानीमा यज्ञ सम्पन्न गरेर  स्वर्गद्धारीहुदै स्वर्ग पुगेको धार्मिक ग्रन्थहरुमा रहेकोले पनि यसको महत्व थप रहेको धार्मिक अभियान्ताहरु बताँउछन् । स्वदेशी तथा विदेशी पाहुनाको खोजीको विषय बनेको धारापानी सरयू(बबई) नदीको किनारमा अवस्थित छ । घोराही बजारदेखि करिब ९ किलोमिटर दक्षिण धर्ना गाविसमा पर्ने पाण्डवेश्वर धाम चुरे पहाडको फेदीमा अवस्थित छ,, मनोरम हावापानी सुन्दर चुरेका जंगलको बीचमा अवस्थित पाण्डवेश्वरधाम धार्मिक पर्यटनको लागि मात्र होइन पर्या पर्यटनको रुपमा पनि विकास गर्न सकिने सम्वद्धहरुको प्रतिक्रृया छ ।

होटेल,होमस्टे  तथा थारु सांस्कृतिक प्रवद्र्धनको आवस्यकता
दाङ भ्रमण गर्न चाहाने पर्यटकले यहाँको पर्यटकीय स्थलको अवलोकनसंगै स्थानीय खानपीन संस्कृतिमा रमाउन  चाहान्छन्, तसर्थ पछिल्लो समय दाङमा मझौला स्तरका होटेलहरु संचालनमा आएका छन्, करिब १५ करोड माथिको लगानीमा होटेल संचालन गर्ने प्रतिस्पर्धा नै छ । एशियाकै ठूलो उपत्यका दाङ अनि धार्मिक पयटकीय गन्तव्यहरुको प्रवद्र्धनले दाङको पर्यटन क्षेत्रमा सुधार आउने व्यवसायीहरुको अपेक्षा छ ।

सरकारी पहलमा दाङमा प्रस्तावित गरिएका होमस्टेहरु हाल मृत अवस्थामा रहेका छन्, जिल्ला विकास समितिको पहलमा संचालनमा ल्याउन खोजिएका होमस्टेहरुले खासै प्रगति गर्न सकेनन् यद्यपी लाखौ सरकारी लगानीले भने  हावा खाएको छ । दुरदर्शी र मागमा आधारित योजनाको अभावमा होमस्टे सफल हुन सकेनन् तथापी नयाँ योजनाका साथ थारु संस्कृतिको प्रवद्र्धन गरि स्थानीय संस्कृति र कलाको व्यवसायीकरण गर्न आवस्यक छ । ग्रामीण जीवनशैलीमा रमाउने पर्यटकका लागि दाङको पहिचान भनेका नै थारु संस्कृति र सभ्यता हो । स्थानीय संस्कृति स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सकेमा स्थानीयको आर्थिक जीवन सुधारसंगै जिल्लाको अर्थतन्त्रमा टेवा पुग्ने अर्थविद बताँउछन् । त्यसको लागि वृहत योजना निर्माण गरि पर्यटन विकासमा लाग्न उनीहरुको सुझाव छ ।