sanghai-groupकाठमाडौं, ९ कात्तिक । औषधि बनाउने आवरणमा नेपाल भित्र्याएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाई धरौटीमा मुक्त भएका छन् ।

सोही प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल पठाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कोल्ड ट्याब्लेट बनाउन २०७० देखि २०७३ सम्म नेपाल आयात गरेको १ अर्ब ९१ करोड बराबरको २ हजार २ सय किलो स्युडोइफ्रिडिन लागूऔषध बनाउन तस्करी गरेको आरोपमा प्रहरीले संघाई समूहका प्रमुख पवनसहित नौ जनामाथि अनुसन्धान गरेको थियो । अनुसन्धानमा संघाई दाजुभाई पवन र रतन मुख्य योजनाकार देखिएका थिए ।

सोमबार थुनछेकको बहस सकिएपछि जिल्ला अदालत ललितपुरले रतनलाललाई १२ लाख धरौटीमा छाड्ने आदेश दियो भने उनीसँगै पक्राउ परेका स्युडोइफ्रिडिन व्यवस्थापन गर्ने दिलिप पंडित, मोहित हलान, बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङलाई भने अर्को आदेश नगरेसम्म कारागारमै राख्न आदेश दिएको छ । पवन लगायतका ४ जना भने फरार छन् ।

रतनलालको नाममा धरौटी निस्किएको छ भने अन्य ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ’, ललितपुरका श्रेस्तेदार बाबुराम दाहालले भने, ‘रतनलाई बारा प्रहरीले उपस्थित गराउनु भनेकाले उता पठाउँदै छौं ।’