gass-660x330

काठमाडौं, ६ कात्तिक । वर्षौँको प्रयासपछि काठमाडौं उपत्यकाको जमिनमुनिबाट ग्यास निकालिएको छ ।

ललितपुरको इमाडोलमा खानी तथा भूगर्भ विभागका प्राविधिकले ड्रिलिङ गरी ग्यास निकालेका हुन् ।

विभागले निकालेको ग्यास शुक्रबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले बालेर देखाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्री जोशीले चुलोमा ग्यास बालेर उपत्यकामा खाना पकाउन मिल्ने ग्यासको व्यावसायिक उत्पादन र वितरणको सम्भावना रहेको पुष्टि गरेका छन् ।

उनले ग्यास बाल्दै स्वदेशमै रहेको खानी उत्खनन गर्न सफल भएको प्रतिक्रिया दिए । ‘हामीले जमिनमुनिको ग्यास बालेर सफल परीक्षण गरेका छौँ,’ उनले भने ।

विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले परीक्षण उत्पादनमा सफल भएको र व्यावसायिक उत्पादनको सम्भाव्यता थालिने जानकारी दिए ।

‘शुक्रबार परीक्षण उत्पादन मात्रै भएको हो, अब व्यावसायिक उत्पादनको सम्भावना खोजी हुन्छ,’ उनले भने । खनालले प्राकृतिक ग्यासको उत्खनन गर्न विभाग क्रियाशील भएर लाग्ने पनि बताए ।

यत्तिकै बाल्नु खतरनाक

विभागका प्रवक्ता कृष्णदेव झाले शुक्रबार निस्केको मिथेन ग्यास बाल्नु सुरक्षाका दृष्टिको उपयुक्त नभएको जानकारी दिए । ‘शुक्रबार निस्केको ग्यास गन्हाउँदैन,’ उनले भने, ‘नगन्हाउने ग्यास प्रयोग गर्दा लिकेज भएको थाहा हुँदैन ।’

उनले हाल ग्यास जम्मा गर्न बनाइएको कम्प्रेस चेम्बरमा गन्ध आउने पदार्थ मिसाएर प्रयोग गर्न सकिने बताए । ‘ग्यासमा गन्ध आउने पदार्थ मिसाउन सकिन्छ, त्यस्तो पदार्थ हाल उत्पादन भएको ग्यासमा मिसाउने हो भने प्रयोग गर्न सकिन्छ,’ उनले भने ।