काठमाडौँ, ६ कात्तिक । प्रहरी प्रधान कार्यालयले २०७३ सालको बडा दसैँ समग्रमा शान्तपूर्वक र दुर्घटनारहित वातावरणमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । दसैँका बेला काठमाडौं उपत्यकाबाहेक मुलुकका केही क्षेत्रहरूमा डुङ्गा तथा सवारी दुर्घटना भए पनि विगतका वर्षहरू जस्तो अप्रिय घटना नभएको दाबी गरेको छ । चाडवाडका बेला प्रहरीको सक्रियता बढेका कारण २०७३ सालको वडा दसैँ शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।
कतिपय दुर्घटनाहरू सुरक्षा निकायको कमजोरीले नभइ स्वयं व्यक्तिगत लापरवाहीले गर्दा हुन गएको भनाइ प्रधान कार्यालयको छ । दसैँमा हुने ठूलो खाले सवारी दुर्घटना, राजमार्गमा डाँका, लुटपाट, डकैती, काठमाडौं उपत्यकामा चोरीका घटनामा निकै कमी आएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापा दसैँमा उपत्यका शान्त र सुरक्षित रहेको बताउनुहुन्छ ।
यात्रुको चापका कारण दसैँमा सवारी दुर्घटना, सबैजना गृह जिल्ला फर्किने भएकाले राजधानीमा चोरी र डकैती, राजमार्गहरूमा डाँका र लुटपाटजन्य अपराधको समस्या नै हो उहाँले भन्नुभयो– यस वर्ष त्यस्तो अप्रिय घटना कहि कतै सुन्नु परेन । सबैभन्दा राम्रो पक्ष यही नै हो । सरकारले राजमार्गक्षेत्रमा हुने डाँका र लुटपाट नियन्त्रण गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरी उच्च सुरक्षा सतर्कता अपनाएको थियो ।
त्यस्तैं, काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त रूपमा दसैँ तिहारदेखि छठसम्मलाई विशेष सुरक्षा योजना, महानगरीय प्रहरी परिसर ललितपुरले दसैँ तिहार सुरक्षा योजना र भक्तपुर परिसरले दुर्घटना तथा अपराधमुक्त भक्तपुर अभियान सञ्चालन गरेको थियो । जुन कार्यक्रमहरू निकै प्रभावकारी भए । महानगरीय प्रहरी प्रमुख एआईजी थापा भन्नुहुन्छ– यो सफलतामा प्रहरीलाई नागरिक समाज तथा सरोकारवाला निकायको महìवपूर्ण सहयोग रह्यो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि राजधानीबाट बाहिर जाने तथा भित्रिने सवारी साधनहरूमाथि सवारी नियमको पालना गराउने कार्यमा निकै सशक्तता अपनाएको थियो । क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने, छतमा यात्रु राख्न नपाउने, स्थानीय प्रशासनको निर्देशन विनारुट परमिट नलिई आफूखुशी सवारी चलाउन नपाउने, प्रत्येक चोक तथा चौकी अगाडि चेकजाँच तथा सवारी ‘इन्ट्री’ गराउनुपर्ने, चर्को भाडा लिनेलाई ‘अन द स्पोर्ट’ कारवाही गर्नुका साथै यात्रुबाट उठाइएको बढी भाडा फिर्ता गर्न लगाउने जस्ता कारवाही सञ्चालन गरेको थियो ।
यस किसिमको ट्राफिक कारवाही तथा सतर्कताले पनि दुर्घटनामा कमी आएको हो । ट्राफिक प्रहरीका अनुसार, १५ गते घटस्थापनाको दिनदेखि २९ गते पूर्णिमाको दिनसम्म ठूला र सामान गरी मुलुकभर पाँचवटा सवारी दुर्घटना भए । जस्मा तीनजनाको मृत्यु र पाँचजना घाइते भएका थिए । एउटा छुट्््टै ढुङ्गा दुर्घटनामा पनि एकदर्जन सर्वसाधारण हताहती भएको थियो । उपत्यकामा चोरीको घटना पनि नयाँबानेश्वर र मिनभवनमा गरी दुई स्थानमा भएको थियो ।
ती चोरी घटनाहरू पनि स्वयं घरधनीको कमजोरीका कारण भएको भनाइ प्रहरीको छ । घरको झ्याल र मूल ढोका राम्रो नलगाएका कारण चोरी भएको थियो । दसैँको बेला घरकोठा चोरी हुनेमा एकजना सांसद नै परेका छन् । धनुषा जिल्ला निवासी सांसद रामचन्द्र यादवको घरमा चोरी भएको थियो । प्रहरीले ती चोरी घटनामा संलग्न केही शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ । अनुसन्धान जारी रहेकाले अभियुक्तलाई सार्वजनिक गरेको छैन ।
दसैँ सकियो तिहारको सुरक्षा ः
महानगरीय प्रहरीले उपत्यकामा दसैँ शान्तिपूर्ण, दुर्घटनारहित र अपराधमुक्त वातावरणमा सम्पन्न भएको जनाए पनि तिहारका लागि भने केही जटिलता देखाएको छ । दसैँको भन्दा तिहारमा गृह जिल्ला फर्किनेहरूको सङ्ख्या धेरै कम हुन्छ । तिहारमा काठमाडौं उपत्यकामा बाक्लै चहलपहल हुनेगर्छ । तिहार आफैंमा धनधान्य तथा लक्ष्मी (सम्पत्ति) को पूजाआजा गरी मनाइने पर्व भएकाले यसमा दसैँको तुलनामा सुरक्षा सतर्कता बाक्लो ढङ्गले अपनाउनुपर्ने देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख प्रकाशजङ्ग कार्की तिहारका नाममा हुने सामाजिक विकृति नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताउनुहुन्छ । तिहारमा जुवातास तथा कौडा खेल्ने, सडकचोक तथा बस्तीहरूमा लङ्गुर गुर्जा खेलाउने, अवैध रूपमा चिट्ठा बिक्री वितरण गर्ने, उपहारका नाममा ठगी गर्ने, विस्फोटजन्य पदार्थ पटाकाहरू पट्काउने, झैझगडा गर्ने र चोरी हुने सम्भावना हुन्छ ।
यस्ता विकृति रोक्न दसैँ अगावै जुवातास तथा कौडा नियन्त्रण, पटाका नियन्त्रण र चोरी नियन्त्रण गर्न सुरक्षा गस्ती बाक्लो बनाइएको उहाँ बताउनुुहुन्छ । दसैँको तुलनामा तिहारमा मदिरा पिउने, रमाइलोका नाममा जुवातास तथा कौडा खेल्ने समस्या बढी नै हुने गरेको छ । यस्तो विकृति रोक्न हामी सक्रिय छौं महाशाखाका निमित्त प्रमुख कार्की भन्नुहुन्छ– तिहार पनि दसैँजस्तै शान्त र सुरक्षित हुन्छ । प्रत्येक दिन राजधानीका विभिन्न स्थानबाट प्रहरीले जुवातास तथा कौडा खेल्नेहरूलाई पक्राउ गर्ने गरेको छ ।
राजधानीको नागढुङ्गा, चोभार, जगाते र मुड्खु ढोकामा नियमित चेकजाँच गर्ने गरेको छ । दसैँको मौका छोपी काठमाडौं भित्रयाइदै गरेको विस्फोटक पदार्थ पटाकाका करिब एक हजार चार सयभन्दा बढी प्याकेट महानगरीय प्रहरी वृत्त थानकोटले बरामद गरेको छ । तिहारमा बैङ्क तथा वित्तीय संस्था र घरहरूमा चोरी हुनसक्ने भएकाले प्रहरीले गस्ती बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रमसिंह थापा बताउनुुहुन्छ ।
दसैँको तुलनामा तिहार झन शान्त, सुरक्षित, दुर्घटनारहित बनाउन आफूहरू लागि परेको भनाइ पनि उहाँको छ । तिहार १३ गतेबाट सुरु हुँदै छ । तीन चार दिनसम्म मनाइने दसैँ र तिहार नेपालीहरूका अन्य चाडपर्वहरूभन्दा महान पर्वका रूपमा मनाउने गरिन्छ । सोही कारण सरकारले दसैँ तिहारका लागि विशेष शान्तिसुरक्षा योजना ल्याउने गरेको हो ।











