typhus

चितवन, ६ कात्तिक ।  केही समययता प्रकोपका रूपमा देखिएको डेङ्गु ज्वरो र स्क्राफ टाइफसको चितवन जिल्लाको सहरी क्षेत्र केन्द्र बनेको छ ।  केही महिना अगाडिदेखि मुसामा हुने माइट्सको टोकाइबाट सर्ने स्क्राब टाइफसको प्रकोप देखिएको चितवन जिल्लाको सहरी क्षेत्रमा यतिबेला लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको प्रकोप फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकूका महानिर्देशक डा. भीम आचार्यका अनुसार भदौयता देशभरका १२ जिल्लामा जाँच गर्दा तीन सय चार जनामा डेङ्गु भएको पुष्टि भएको र तीमध्ये २७२ जना चितवनका छन् ।  त्यसैगरी गत तीन महिनाको अवधिमा देशका ३९ जिल्लामा ४२८ जनामा देखिएको स्टाब टाइफसका रोगीमध्ये तीन सय सात जना चितवनका हुन् ।  महाशाखाका अनुसार स्टाब टाइफसबाट देशभर १० जनाको मृत्यु भएको छ, तीमध्ये तीन जना चितवनका हुन् ।

पछिल्लो समय चितवनको रत्ननगर क्षेत्रमा डेङ्गुको प्रकोप फैलिएपछि त्यसको अनुगमन र जाँचपडतालका लागि इपिडिमियोलोजी महाशाखाको टिम चितवन आएको थियो ।  उक्त टोलीले शुक्रबार रोग सङ्क्रमित रत्ननगर क्षेत्रमा सरोकारवाला निकाय र स्थानीय समुदायका अगुवालाई भेला गराएर डेङ्गुका बारेमा जानकारी दिएको छ ।  चितवनका २४८ डेङ्गु सङ्क्रमितमध्ये रत्ननगरको सहरी क्षेत्रका मात्र २२२ जना रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसूदन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महाशाखाका महानिर्देशक आचार्यले देशभरको डेङ्गुको अवस्था र चितवनको प्रकोपबारे जानकारी दिनुभएको थियो ।  उहाँले बाहिर हल्ला गरेजस्तो डेङ्गु ज्वरो डरलाग्दो नभएको बताउँदै यसको लक्षणका आधारमा उपचार गराएको खण्डमा निको हुने रोग हो भन्नुभयो ।  सेतो रगत कम हुने र रक्तअल्पता हुने, रक्तश्राव हुने अवस्थाभन्दा अन्य अवस्थाका बिरामीले सामान्य उपचार अर्थात् सिटामोल खाने र प्रसस्त मात्रामा पानी पिउने हो भने यो रोग आफै निको हुने उहाँले बताउनुभयो ।

अन्तरक्रियाका चितवन मेडिकल कलेजका प्रा. डा. शीतल अधिकारीले आफ्नो कलेजमा यतिबेला तीन जना आईसीयूमा उपचारमा रहेको डेङ्गु बिरामी रहेको र अन्य पाँच जना जनरल वार्डमा उपचारमा रहेको बताउनुभयो ।  त्यसैगरी भरतपुर अस्पतालमा डेङ्गुका १२ जना बिरामी उपचारमा रहेको उक्त अस्पतालका फिजिसियन प्रमुख डा. विजयप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अन्तरक्रियामा इपिडिमियोलोजी महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले देशको र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्टोलर रामकुमार केसीले चितवनको वस्तुस्थितिबारेमा जानकारी गराउनुभएको थियो ।  दसैँ अगाडिदेखि डेङ्गुको सङ्क्रमण बढ्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर र रत्ननगरको सहरी क्षेत्रमा एडिस एजिप्टाई लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।  यतिबेला रत्ननगर क्षेत्रमा इपिडिमियोलोजी महशाखाले ११८ स्वयंसेवक परिचालन गरी खोजी र नष्ट अभियान सञ्चालन सुरु गरेको छ ।

कपिलवस्तु समाचारदाताका अनुसार कपिलवस्तुको पश्चिमी क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।  भारतीय सीमावर्ती बजार कृष्णनगर तथा चन्द्रौटा क्षेत्रमा अहिले डेङ्गु सङ्क्रमण बढ्दै गएको हो ।  एक महिनाअघि फाटफुट देखा परेको डेङ्गुको बिरामी दसैँपछि ह्वात्तै बढेको छ ।
कृष्णनगरस्थित फेमिली मेडिकल हल, चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा यतिखेर डेङ्गुु रोगको सङ्क्रमणमा परेका बिरामी आउने गरेका छन् ।  शिवराज नगरपालिका–६, चन्द्रौटाका १२ वर्षीय समिर मुसलमानको बुधबार रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण फेला परेको फेमिली मेडिकलका डा. अनवर खानले जानकारी दिनुभयो ।

बिरामी मुसलमानको रगतमा प्लेट्लेट्सको मात्रामा कमी देखिएपछि डेङ्गु लागेको उहाँले पुष्टि गर्नुभएको हो ।  बालकलाई उपचारका लागि मेडिकलमै भर्ना गरिएको छ ।  यसैगरी सिर्सिहवाका २० वर्षीय सुनिल अग्रहरि र कृष्णनगरका १५ वर्षीय नमाज अहमद पनि डेङ्गु सङ्क्रमणले बिरामी भई भैरहवा मेडिकलमा उपचारका लागि रिफर गरिएको छ ।  डा. अनवर खानका अनुसार उपचारका लागि क्लिनिकमा आउने बिरामीमा अहिले दैनिक ७÷८ जना डेङ्गुको लक्षणका बिरामी फेला पर्ने गरेका छन् ।
दसैंअघि शिवराज नपा–६, चन्द्रौटाका युवा किरण केसीमा डेङ्गु देखा परेपछि उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।  चन्द्रौटा बजार क्षेत्रमा समेत ८ जना डेङ्गु सङ्क्रमणका बिरामी फेला परेको वरिष्ठ मेडिकल हल तथा सञ्जीवनी अस्पतालले जनाएका छन् ।

एडिज नामक लाममुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गरेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलको भनाइ छ ।  एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् ।  एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बा हुने गरेको उहाँले बताउनुभयो ।