काठमाडौं, ५ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट निलम्बिन भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ।

lokman-karkiआज अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन्।

सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म सम्पूर्ण सेवा सुविधा अर्यालले माग गरेका छन्।

अधिवक्ता अर्यालले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१, ५२ बमोजिम तत्काल अन्तरिम वा अन्तरकालिन आदेश र नेपालको संविधानको धारा १३३ बमोजिम अन्य जो चाहिने आदेश समेत जारी गरी पाऊ भन्दै निवेदन दर्ता गरेका हुन्।