काठमाडौ ४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष साधारणसभा आज हुने भएको छ । महासङ्घले विधान संशोधनका लागि साधारणसभा बोलाएको हो । महासङ्घको विशेष साधारणसभा रोक्न परेको रिटमा सुनुवाइ गर्र्दै पाटन उच्च अदालतले साधारणसभा गर्न मिल्ने गरी निर्णय सुनाएपछि साधारणसभा हुन लागेको हो ।
महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र सदस्य गोविन्द घिमिरेले गरेको मागका सम्बन्धमा अदालतले साधारणसभा एक दिन यथास्थितिमा राखी दुवै पक्षलाई हिजो छलफलका लागि बोलाएको थियो । छलफलपछि अदालतले साधारणसभा एक दिन यथास्थितिमा राख्ने मङ्गलबारको निर्णयलाई निरन्तरता दिइराख्न नपर्ने भन्दै आदेश जारी गरेपछि भोलि कात्तिक ४ गते विशेष साधारणसभा हुने निश्चित भएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राससलाई जानकारी दिनुभयो ।
राजकर्णिकार र घिमिरेले साधारणसभा रोक्न माग गर्दै कात्तिक १ गते रिट दायर गर्नुभएको थियो । साधारणसभा आर्मी अफिसर्स क्लबमा अहिले बिहान ९ बजे शुरु हुने महासंघको केन्द्रीय सदस्य ज्योत्सना शाक्यले सीआईएनलाई जानकारी दिनुभयो ।
