prachandaकाठमाडौँ, ३ कात्तिक ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा सम्बोधन गर्नुहुने भएको छ । भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले संसद्मा समय माग्नुभएको हो । बुधबार अपराह्न तीन बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले प्रधानमन्त्रीले सम्वोधनका लागि समय माग गर्नुभएको बताउनुभयो । कुँइकेलले भन्नुभयो, ‘समसामयिक विषयमा सम्वोधनका लागि प्रधानमन्त्रीले समय माग गर्नुभएको छ । बुधबारको बैठकमा उहाँले नियमित कार्यसूचीभन्दा पहिले नै सम्बोधन गर्नुहुनेछ । ’

प्रधानमन्त्री प्रचण्डले यसअघि भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नै संसद्मा सम्बोधन गर्दै जवाफ माग्नुभएको थियो । यस्तै, अन्य प्रतिपक्ष दलहरूले पनि सहमतिका विषयमा असहमति प्रकट गर्दै जवाफ माग गरेका थिए । मङ्गलबारको संसद्मा प्रधानमन्त्रीको अघिल्लो भारत भ्रमण र हालै सम्पन्न भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनलगायत सांसदहरूले जवाफ माग गर्नुभएको छ ।

प्रतिपक्ष दलहरूले संविधान संशोधनबारे पनि सरकारको धारणा माग गरेका छन् । यस्तै मङ्गलबारको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विदेश भ्रमण स्वीकृतको कारण र प्रयोजनबारे प्रधानमन्त्रीसँग जवाफ माग्नुभएको थियो । समसामयिक विषयमा सदनलाई जानकारी गराउनका लागि प्रधानमन्त्रीले समय लिनुभएको हो ।