काठमाडौ, २९ बैशाख एकीकृत नेकपा माओवादीले विगतमा आफूबाट अलग भएका विभिन्न माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतका पार्टीसँग एकताको निर्णय गरेको हो । दुबै पार्टीका बीचमा चलिरहेका छलफलका आधारमा एकीकृत माओवादीले एकताको निर्णय गरेको एमाओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
महराले अन्य पार्टीसँग एकताका लागि राजनीतिक, वैचारिक र साङ्गठनिक विषयमा निर्णय गर्न आगामी जेठ १ गते आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरिको जानकारी दिनुभयो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापा नेतृत्वको समूह तत्काल एकताका लागि तयार देखिएको छ भने वैद्य समूह निर्णयमा पुगिसकेको छैन । एकीकृत माओवादीबाट अलग भएका वैद्य, नेत्रविक्रम चन्द, मणि थापा, मात्रृका यादव नेतृत्वमा हाल अलग अलग पार्टी छन् ।।
