इन्द्रेणी संवाददाता
बैशाख २९ घोराही दाङ
देशमा नयाँ संविधान प्राप्त गरेपछि अब समृद्धिको पालो भएको दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । समृद्धिको आधार पर्यटन भएकोले यसको प्रवद्र्धनमा पर्यटन पत्रकारको अहम भूमिका हुने उनीहरुले बताएका छन् । नेपाल पर्यटन पत्रकार संघको केन्दीय कार्यालय उदघाटन तथा दाङको पर्यटन विकासमा हामी कहाँ छौ? भन्ने विषयमा बुधबार भएको अन्तरक्रृया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनका लागि संचारको उल्लेख्य योगदान भएको चर्चा गर्दै मुलुकको समृद्धिको लागि पर्यटन पत्रकारिताको सशक्त भूमिका आवस्यक भएको उनीहरुले औल्याएका छन् । राज्य, निजी क्षेत्र र समुदायको सहकार्यबाट पर्यटनको क्षेत्रमा विकास गर्न सकिने भएकोले पर्यटन पत्रकारहरुले खबरदारीका साथै सचेतिकरण गर्न आवस्यक भएको उनीहरुले औल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले नेपाल पर्यटकीय गन्तव्य भएकोले जिम्मेवार निकायलाई दबाव तथा स्थानीयमा चेतनाको बिस्तार गर्न पर्यटन पत्रकारहरुको अहम भूमिका भएको बताउनुभयो । राज्यले पर्यटन विकासका लागि राष्टिय नीति तथा कार्यक्रम बनाएकोले यसलाई साकार पार्न पर्यटन पत्रकारहरुले सिर्जनात्मक दबावको माहोल बनाउन सुझाउनु भयो ।
पत्रकारको कलमको निकै प्रभाव रहने बताउदै आम संचारले सार्वजनिक गरेका विषयले जिम्मेवारहरुलाई दबाव दिने भएकोले अझ सशक्त भएर लाग्न आग्रह गर्नु भयो । पर्यटकीय दृष्टीकोणले दाङ अत्यन्तै संभावना भएकोले यसतर्फ सबैको ध्यान पुग्नु पर्ने औल्याउनु भयो । प्रेस सेनानी सुशिल गौतमले नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय कार्यालय दाङमा स्थापना हुनुले केन्द्रीकृत मानसिकताको अन्त्यका लागि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
पत्रकारिताको विकाससंगै विधामा पत्रकारिताको विकास भएकोले पर्यटन क्षेत्रलाई उभो लगाउन पर्यटन पत्रकारहरुको भूमिका अझै बढेको बताउनु भयो । नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय सल्लाहकार समेत रहनु भएका गौतमले पर्यटनको व्यापक संभावनालाई अवसरमा बदल्न पर्यटन पत्रकारहरुको कलम अझ तिखो हुनु पर्ने आग्रह दिदै प्रगतिको शुभकामना दिनु भयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्क बुढाथोकीले दाङको पर्यटन विकाससंगै विद्यमान राप्तीको पर्यटन विकासमा निजी सधै सदैव तयार रहेको बताउनु भयो ।
एन्टोजका केन्द्रीय उपाध्यक्ष सन्तोष दहितले स्वागत तथा विषय प्रवेश गराउनु भएको थियो भने एन्टोजका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को अध्यक्षतामा महासचिव केशरमान विसीले संचालन गर्नुभएको सचिव लिलाधर वलीले जानकारी दिनुभएको छ । कार्यक्रम घोराही स्थित हुलाक नजिकमा रहेको एन्टोज केन्द्रीय कार्यालयमा भएको थियो । स्मरण रहोस् एन्टोजको हाल रोल्पा र प्यूठानमा शखा गठन भई क्रियाशिल रहेका छन् । रुकुम र सल्यानको शाखा पनि छिट्टै हुने र प्रदेशका पाल्पा गुल्मी, अर्घाखाँची, बाँके बर्दिया, लगायतका जिल्लामा पनि शाखा बिस्तारको कार्यक्रम रहेको अध्यक्ष धनिराम शर्माले जानकारी गराउनुभएको थियो ।।