इन्द्रेणी संवाददाता
घोराही, २ कार्तिक । एक बर्षअघि कतारमा दुर्घटनामा घाइते भएका रुकुम चौखावाङ गलम्पाटीका ललित बुढा मगरको परिवारलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रतिशील मञ्च कतारले एक लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

14741677_10209348372379600_1868083239_nबिरामी बुढा दश महिनादेखि कतारको अस्पतालमा अचेत अवस्थामा छन् । बिरामी ललितको गाउँमा एक कार्यक्रम गरीसहयोग रकम हस्तान्तरण गरिएको छ । स्थानीय अगुवा भरतकुमार कठायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनता आधारभूत विद्यालय गलम्पाटीका प्रधानाध्यापक चुडामणि रोकायले विरामीका बुवा रामबहादुर बुढालाई एक लाख साठी हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सोही गाउँ घर भएका पत्रकार नरेन्द्र केसीको पहलमा नेपाली जनप्रतिशील मञ्च कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरेको थियो । ललित बिदेश जाँदा कारेको ऋण तिर्न नसकेको र ललितकी श्रमतीसमेत अन्यत्र विवाह गरेर गएपछि अलपत्र परेका बुवाआमालाई प्रवासीको सहयोगले धेरै राहत पुगेको पत्रकार केसीले बताए ।

उता आफूहरुले यो घटना ढिलो गरी थाहा पाए पनि थाहा पाएलगत्तै केही सहयोग होस् भनेर सहयोग संकलन गरेको र विरामीको नियमित हेरचाह पनि गरिरहेको जनप्रतिशील मञ्च कतारका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।