काठमाडौ, ३० असोज । रसुवाको गोल्जुङ -२ थाम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको त्रिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन अन्यौलमा परेको छ । प्रसारण लाइनको सवस्टेशन निर्माण जग्गाको मुआब्जा विवादले अन्यौलमा परेको हो । सवस्टेशन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दावी गरेका छन् ।

electricity_hero_lge_632x320-624x316चिलिमे त्रिशूली प्रशारणलाइन परियोजनाले जग्गाधनीलाई प्रतिआना ८० हजार देखि १ लाख रुपैँया दिन सहमति जनाए पनि २ लाख रुपैँया देखि २ लाख ५० हजार रुपैँया प्रति आना पाउनुपर्ने स्थानियले माग राखेका छन् । प्रशारणलाइन केन्द्र निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण नहुँदा निर्माणको काम अन्यौलमा भएको चिलिमे त्रिशूली परियोजना हबका प्रमुख केदार सिलवालले जानकारी दिए ।

चिलिमे विद्युत् कम्पनीमार्फत निर्माणाधीन रहेको चार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नुवाकोटको पैरेवेशी ल्याएर माथिल्लो त्रिशूली विद्युत् प्रसारण लाइनको हबमा जोडेर केन्द्रीय प्रसारण लाइनमा पठाउने योजना बनाइएकामा त्यो पनि अपुरो हुने देखिएको छ ।

रसुवामा चिलिमे विद्युत् कम्पनीमार्फत १११ मेगावाट क्षमताको रसुवागढी, ४२ दशमवल ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।